


धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।


बुधबार राति करिब ८ बजे जिल्लाको मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्ट नजिकै सौडानी खोलामा जिप दुर्घटना भएको हो।





सदरमुकामबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयको विवरणमा उल्लेख छ।


दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ का ३५ वर्षीया सुना मंगोलाको भित्री शरीरमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ।
त्यस्तै, २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करण सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन्।
घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको छ।
दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्दको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।






