


काठमाडौं । अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या गरेको अभियोग लागेका उनका श्रीमान् नरेश भट्टले अदालतमा बयान दिँदै छोरी जन्मिएपछि ममताको व्यवहार परिवर्तन भएको दाबी गरेका छन् । उनले आफूले घरायसी कामको अधिकांश जिम्मेवारी सम्हाल्ने गरेको र ममताले आफूलाई नियन्त्रण गर्ने गरेको आरोपसमेत लगाएका छन् ।


३९ वर्षीय नरेशमाथि २८ वर्षीया श्रीमती ममताको हत्या तथा शवको अपमान गरेको अभियोग छ । सरकारी वकिलका अनुसार ममताको सन् २०२४ जुलाई ३० आसपास हत्या भएको विश्वास गरिएको छ । तर, उनी बेपत्ता भएको औपचारिक जानकारी सहकर्मीहरूले चिन्ता व्यक्त गरेपछि केही दिन बितेर मात्रै प्रहरीलाई दिइएको थियो ।





नोभेम्बर ४ मा अदालतमा बयान दिएका नरेशले आफ्नो बाल्यकाल भारत र नेपालमा कठिन परिस्थितिमा बितेको बताएका छन् । अमेरिका पुगेपछि अंग्रेजी भाषा सिक्न आफूले अनावश्यक फोन कल गर्नेहरूसँग समेत कुराकानी गर्ने गरेको उनले सुनाए । अमेरिका पुगेपछि अमेरिकी सेनामा भर्ती भएका नरेशले सेनामा आबद्ध भएपछि अमेरिकी नागरिकता पाएको बताए । आधारभूत सैन्य तालिम पूरा गरेपछि आफू रिजर्भ फोर्समा गएको उनको भनाइ थियो ।

नरेशका अनुसार सन् २०१९ को अन्त्य वा २०२० को सुरुवाततिर सामाजिक सञ्जालमार्फत ममतासँग उनको चिनजान भएको थियो । त्यतिबेला आफू अर्कै महिलासँग विवाह गर्ने तयारीमा रहेको उनले अदालतमा बताए । उक्त सम्बन्ध टुटेपछि ममतासँग प्रेम सम्बन्ध अघि बढाएको र पहिलो कुराकानी भएको एक–दुई सातामै विवाहको योजना बनाएको उनको भनाइ थियो ।
विवाहपछि ममता अमेरिका पुगेकी थिइन् । त्यसपछि पनि घरायसी कामको अधिकांश जिम्मेवारी आफूले नै सम्हाल्ने गरेको नरेशले बताए । घर सफा गर्ने, भान्साबाहेकका काम गर्ने, लुगा धुने तथा घरको बिमा र कागजी प्रक्रिया मिलाउने काम आफूले गर्ने गरेको उनको दाबी छ ।

नरेशका वकिल ट्रेसी लेनोक्सले घरमा ममताको जिम्मेवारी के थियो भनेर सोध्दा उनले ‘मलाई नियन्त्रण गर्नु’ भन्ने जवाफ दिएका थिए । त्यसपछि ममताले खाना पकाउने गरेको पनि उनले बताए । सन् २०२३ अगस्टमा छोरी जन्मिएपछि ममताको व्यवहारमा परिवर्तन आएको नरेशको दाबी छ । पहिले रमाइलो मान्ने कुरामा पनि उनी हाँस्न छाडेको र सामान्य विषयमा समेत रिसाउने गरेको उनले बताए । बत्ती छिटो बाल्दा वा आफूले ठूलो स्वरमा खोक्दा समेत ममताले विवाद गर्ने गरेको उनको भनाइ थियो ।
वैवाहिक सम्बन्धमा तनाव र झगडा बढ्दै गएको स्वीकार गरे पनि नरेशले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरे । ‘हाम्रो पारिवारिक संस्कारमा त्यस्तो छैन । मैले परिवारमा कसैले शारीरिक हिंसा गरेको देखेको छैन । म त्यस्तो व्यक्ति होइन,’ उनले अदालतमा भने ।
ममता बेपत्ता हुनुअघिका महिनामा उनको मानसिक स्वास्थ्यमा समस्या रहेको हुन सक्ने नरेशले बताएका छन् । त्यसबेला आफूले उनको अवस्थाबारे गहिरिएर ध्यान दिन नसकेको पनि उनले स्वीकार गरेका छन् ।
‘त्यतिबेला के भइरहेको थियो भन्ने कुरामा मैले गहिरिएर ध्यान दिइनँ । अहिले पछाडि फर्केर हेर्दा मैले ती क्षणमा केही परिवर्तन गर्नुपर्ने रहेछ भन्ने बुझ्छु,’ उनले भने ।
सरकारी वकिलले सोमबार आफ्नो पक्षको प्रमाण प्रस्तुत गर्ने काम पूरा गरेका थिए । १३ दिनसम्म चलेको सुनुवाइका क्रममा ममता अन्तिमपटक जीवित देखिएको समयपछि नरेशले पञ्जा, एयर फ्रेसनर र सरसफाइका सामग्री खरिद गरेको सीसीटीभी फुटेज अदालतमा प्रस्तुत गरिएको थियो ।
ममताको शव अहिलेसम्म फेला परेको छैन । तर, उनको बेपत्तापछि नरेशले एक ल्यान्डस्केपिङ कामदारलाई दिएको रेसिप्रोकेटिङ स (काट्ने उपकरण|) को भित्री भागमा ममताको डीएनए भेटिएको सरकारी वकिलले बताएका छन् । अभियोजन पक्षले उक्त उपकरण शव टुक्र्याएर व्यवस्थापन गर्न प्रयोग गरिएको हुन सक्ने दाबी गरेको छ ।
नरेशले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । अदालतमा सुनुवाइ जारी छ र मुद्दाको अन्तिम फैसला आउन बाँकी छ ।






