


काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको संरचना बलियो बनाउन तल्लो तहबाटै नेतृत्व विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास आवश्यक रहेको बताएका छन् । निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनाका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटमा पार्टीको नेतृत्व विकास तल्लो तहबाटै शुरू गर्नुपर्ने बताएका हुन् ।



वडा, पालिका, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म नेतृत्व गर्न सक्ने जनशक्ति तयार गर्नुपर्ने उनको भनाइ छ । पार्टीका मतदाता वा सदस्य भएकै आधारमा कसैलाई पनि गलत काम गर्ने छुट नरहेको उनले बताए । ‘पार्टीका समर्थकले जे गरे पनि हुन्छ भन्ने होइन।





आफ्ना नेता तथा समर्थकलाई पनि जे गरे पनि छुट हुँदैन,’ उनले भने, ‘हामी विधिमा विश्वास गर्छौँ। सबै संस्था र राज्यका निकायहरूले विधिको पालना गर्न सकून् र त्यसलाई अझ बढी अभ्यासमा ल्याउन सकून् भनेर हामी काम गरिरहेका छौँ ।’

पार्टीको समग्र संरचना निर्माण र विभिन्न क्षेत्रसँग समन्वय गर्नु सभापतिको महत्त्वपूर्ण जिम्मेवारी रहेको उनले बताए ।






