


सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको छ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार (आज) बिहान २:४० बजे वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा जुवातास खेल भइरहेको गोप्य सूचना प्राप्त भएको थियो।






सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा जुवातास खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट जुवातास र नगद ३ लाख ७७ हजार ८ सय ५० रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ परेका आठै जनालाई बरामद नगद तथा जुवाताससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






