


काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको हवालामा लगाइएका आरोपकै आधारमा नेताहरूको चरित्रमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् ।


पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् । शर्माले बिचौलियाले कसैको नाम लिएको भरमा त्यसलाई अदालत र कानूनले समेत प्रमाणका रूपमा स्वीकार नगर्ने भन्दै सामाजिक सञ्जालमा फैलाइने हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।





‘कसैले अनर्गल कुरा फेसबुकमा लेखिदिएर यति खायो रे, उति खायो रे, यति बुझाए रे, उति बुझाए रे, यति करोड बुझाए रे भन्यो भन्दैमा पत्याउने ? एकपटक ८–९ महिना स्वास्थ्यमन्त्री भएको गगन थापा, जिन्दगीमा मन्त्री कहिल्यै नबनेको, सांसद मात्रै बनेको विश्वप्रकाश शर्मा हुँदा करोड–करोड बुझाउन सकौँला कि वर्षौंसम्म पटकपटक सत्तामा बसेका नेताहरू उतै हुनुहुन्थ्यो त ! उहाँहरूले चाहिँ बुझाउन सक्नुभएन ?’


उनले बिचौलियाले भनेको भरमा कसैलाई दोषी ठहर गर्न नमिल्ने दृष्टान्त दिँदै बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले प्रधानमन्त्री बनाउने नाममा ५० करोड रुपैयाँको डिल भएको थियो र त्यसको पैसा बुझाउन बैंक लुटिएको भन्दै कसैको नाम जोडिदियो भने त्यसलाई अदालत र कानूनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरे ।
‘बैंक डकैतीमा पक्राउ परेको मान्छेले फलानालाई प्रधानमन्त्री बनाउन फलाना प्रधानमन्त्रीको उम्मेदवारले दाबी छोडेर ५० करोडमा डिल भएको थियो, त्यो पैसा नबुझाइसकेको हुँदा अहिले बैंकबाट डकैती गरेर ५ करोड दाइलाई पुर्याउन हामी लागेका हौँ भन्यो भने त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानूनले मान्छ कि मान्दैन ?’ शर्माले भने ।
उनले बिचौलियाको भनाइलाई आधार बनाएर सामाजिक सञ्जालमा आरोप फैलाउने प्रवृत्तिप्रति पनि आपत्ति जनाए । कार्यक्रममा शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधान, विधि, पद्धति र संविधानअनुसार इमानदारीपूर्वक सम्पन्न भएको दाबी गरे ।
महाधिवेशन प्रतिनिधिहरूको योगदानबाट पार्टी नयाँ नेतृत्वसहित अघि बढेको उल्लेख गर्दै उनले गगन थापाको नेतृत्वमा कांग्रेस देशका लागि स्पष्ट सपना र परिवर्तनको हुटहुटीसहित योजनाबद्ध रूपमा अगाडि बढिरहेको बताए ।
‘नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन गरेर १५औँ महाधिवेशनसम्म पुग्दै गर्दा पार्टीको विधि, विधान, प्रक्रिया, पद्धति र संविधानबमोजिम इमानदारीपूर्वक सबै काम भएको छ । महाधिवेशन प्रतिनिधिहरूले पनि यसमा योगदान गर्नुभएको छ,’ उनले भने, ‘कांग्रेस अब देशका लागि आँखामा एउटा सपना, मनमा एउटा हुटहुटी र आगो बोकेर गगन थापालाई सभापति बनाएर योजनाबद्ध ढंगले अगाडि बढ्दै छ । हामी चुस्त छौँ, व्यवस्थित छौँ ।’






