

धनगढी । पत्रकारितासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै प्रेसपत्रले धनगढीस्थित दृष्टि फाउन्डेसनलाई खाद्यान्न, सरसफाइ तथा घरायसी सामग्री सहयोग गरेको छ ।
प्रेसपत्रले आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट संकलित रकमको केही हिस्सा सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यअनुरूप फाउन्डेसनमा आश्रित बालबालिका एवंम मनो रोगबाट प्रभावित व्यक्तिहरूका लागि आवश्यक सामग्री सहयोग गरिएको हो ।
एक औपचारिक कार्यक्रमबीच प्रेसपत्रका तर्फबाट पवित्रा पौडेल, इन्द्रा भाटलगायतले फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टलाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।
सहयोग सामग्री बुझ्दै अध्यक्ष भट्टले देउसी–भैलो खेलेर संकलन भएको रकम पिकनिक तथा अनावश्यक खर्चमा उपयोग गर्ने परम्परालाई तोड्दै सामाजिक सेवामा खर्च गर्ने प्रेसपत्रको प्रयास प्रशंसनीय रहेको बताइन् । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै फाउन्डेसनलाई सहयोग गरेकोमा प्रेसपत्र परिवारप्रति धन्यवाद व्यक्त गरिन् ।
प्रेसपत्रले पत्रकारितासँगै सामाजिक अभियान र संस्कृति संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस वर्ष २३ र २४ कात्तिकमा धनगढी क्षेत्रमा देउसी–भैलो कार्यक्रम सञ्चालन गरेको थियो ।
उक्त कार्यक्रमबाट कुल एक लाख ५१ हजार २३५ रुपैयाँ संकलन भएको थियो । कार्यक्रम सञ्चालनको खर्च कटाएर बाँकी रकममध्ये केही हिस्सा सामाजिक सेवामा खर्च गर्ने प्रेसपत्रले यसअघि नै घोषणा गरेको थियो ।
देउसी–भैलोबाट संकलित रकमलाई सामाजिक सेवामा जोड्दै प्रेसपत्रले संस्कृति संरक्षणसँगै मानवीय सेवाको अभियानलाई समेत अघि बढाएको जनाएको छ ।

