आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । सूर्यदेवको पूजा, आराधना र उपासनासहित मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ। चार दिनसम्म मनाइने यो पर्व गत शुक्रबारदेखि सुरु भएको हो।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेव र षष्ठी माताको विशेष पूजा गरिन्छ। यस पर्वमा व्रतालुहरू स्नान गरी चोखो भोजन गर्ने, खरना बस्ने र कठोर निराहार व्रत गर्ने परम्परा छ।

पौराणिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ। पुराणमा सूर्यको आराधनाबाट श्रीकृष्णका पुत्र साम्ब कुष्ठरोगबाट मुक्त भएको प्रसङ्गसमेत पाइन्छ।

छठ पर्वमा सूर्यलाई फलफूल, ठकुवा, भुसुवा लगायतका प्रसाद चढाएर पूजा गर्ने चलन छ। व्रत गरे दुःख, दरिद्रता र रोगव्याधिबाट मुक्ति मिल्ने तथा परिवारका सदस्यको सुख, शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ।

व्रतविधिअनुसार चतुर्थीका दिन स्नान गरी एक छाक भोजन गरिन्छ। पञ्चमीका दिन सखर मिसाएर बनाइएको खीर अर्थात् खरना षष्ठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गरिन्छ। षष्ठीका दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ।

गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका अध्यक्ष अनिल सिंहका अनुसार आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् समापन हुनेछ। धार्मिक विश्वासअनुसार छठमा विधिपूर्वक सूर्यको पूजा र अर्घ्य दिएमा चर्मरोगबाट मुक्ति मिल्ने मान्यता पनि छ।

२०४६ सालअघि तराईका सीमित क्षेत्रमा मनाइने छठ पर्व अहिले देशभर फैलिएको छ। पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रका समुदायले समेत उत्साहपूर्वक मनाउन थालेपछि यसले राष्ट्रिय पर्वको स्वरूप ग्रहण गरेको छ।

छठका अवसरमा काठमाडौंको गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा विशेष सजावट गरिएको छ।

कार्तिक शुक्ल सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ पर्व सम्पन्न हुनेछ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...