कञ्चनपुरमा महोत्सवको चिनजानले प्रेम विवाह, श्रीमतीलाई गर्भवती बनाएर छाडेपछि युवक बलात्कार मुद्दामा समातिए



धनगढी । कञ्चनपुर महोत्सवमा भएको सामान्य चिनजान प्रेम सम्बन्धमा बदलियो। त्यसपछि दुवै जनाले विवाह गरे। तर, विवाहपछि सम्बन्धमा खटपट सुरु भयो। अन्ततः सँगै जीवन बिताउने वाचा गरेका उनीहरू अलग भए। अहिले युवक प्रहरी हिरासतमा छन् भने किशोरी दुई महिनाको गर्भ बोकेर न्यायको खोजीमा छिन्।
घटना कञ्चनपुरमा भएको भए पनि विवाहपछि युवकले किशोरीलाई बैतडी पुर्याएका थिए। सोही घटनासम्बन्धी जाहेरीका आधारमा बैतडी प्रहरीले युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार नाबालिग श्रीमतीका संरक्षकले दिएको किटानी जाहेरीका आधारमा दशरथचन्द नगरपालिका–५ का १९ वर्षीय रोशन राम लुहार पक्राउ परेका हुन्। उनीमाथि अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धान पूरा गरी मुद्दा सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरिसकेको छ। शुक्रबार उक्त मुद्दामा थुनछेक बहस भइरहेको छ।
यता, किशोरी भने दुई महिनाको गर्भ बोकेर न्यायको खोजीमा छिन्। गर्भमा रहेको शिशु लुहारकै भएको दाबी गरिए पनि त्यसको पुष्टि गर्न डीएनए परीक्षणका लागि दुवै पक्षको नमुना संकलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
किशोरीमाथि अत्तरिया र कञ्चनपुरका विभिन्न स्थानमा समेत पटक–पटक जबरजस्ती करणी भएको आरोप छ। सोही विषयमा दुवै जिल्लामा आवश्यक प्रहरी मुचुल्का तयार गरी बैतडी पठाइएको स्रोतले जनाएको छ।
कम उमेरमै विवाह गर्ने र त्यसपछि उत्पन्न विवाद तथा सम्बन्धमा आएको उतारचढावले गम्भीर कानुनी तथा सामाजिक समस्या निम्त्याएको यो घटनाले बालविवाह र किशोरावस्थामा हुने सम्बन्धका जोखिमबारे पनि प्रश्न उठाएको छ।
