

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दलको झोला बोक्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन भन्दै त्यस्तो प्रवृत्ति त्याग्न पनि उनको सुझाव छ ।
“हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौँ, राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो,” मन्त्री गुरुङले फेसबुकमा लेखेका छन्, “हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ, देशप्रति समर्पित भएर जनताको सेवा गर्ने ।”
उनले अझै पनि दलको निकट भए राजनीति गर्न पाइन्छ भन्ने भ्रम त्याग्न चेतावनी दिएका छन् । “यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ,” उनी अगाडि लेख्छन्, “आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन ।”
उनले कसैको चाकडी गर्ने कर्मचारी नभएर जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको प्रस्ट पारेका छन् ।

