

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा जस्तै ‘हावाहुरी’ ल्याएर स्थानीय तह र प्रदेशसभा सदस्य चुनाव जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चेतावनी दिएका छन् । उनले संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयास भए देश फेरि दुर्घटनामा जान सक्ने बताए ।
शनिबार (मंसिर ५) भक्तपुरमा नेकपा जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा उनले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकाल र समयसीमाअनुसार छुट्टाछुट्टै हुनुपर्नेमा जोड दिए । उनले निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर चुनावको तयारी र समयतालिकाबारे छलफल गरेको जानकारी दिए ।
त्यसक्रममा स्थानीय तह र प्रदेशसभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा फरक धारणा आएको उनले बताए । केही पक्षबाट स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा प्रदेशसभाको चुनाव पहिले गर्ने विषय उठाइएको उनले उल्लेख गरे । तर, संविधान र कानुनको व्यवस्थाअनुसार नै अघि बढ्नुपर्ने आफ्नो धारणा रहेको उनले स्पष्ट पारे ।
प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आउँदो जेठ ५ गतेसम्म रहेको बताए । प्रदेशसभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले सोही समयसीमालाई आधार मानेर निर्वाचन गरिनुपर्नेमा उनले जोड दिए ।
उनले संविधान र कानुन मिचेर निर्वाचन गर्न खोजिए त्यसले राजनीतिक अस्थिरता र अर्को दुर्घटनाको जोखिम निम्त्याउन सक्ने चेतावनी दिए । एक ठाउँमा संविधान र कानुन मिच्ने बाटो खोलिए त्यसले अरू संवैधानिक व्यवस्थामाथि समेत प्रश्न उठाउने र प्रतिगामी शक्तिले त्यसलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने उनको भनाइ थियो ।

