

धनगढी । कञ्चनपुरमा आफ्नो श्रीमानको डेरामा आएका बेला श्रीमतीले श्रीमान र युवतीलाई कोठाभित्र थुनेको घटनासँग जोडिएको बहुविवाह मुद्दामा अदालतले दुवै जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश सूर्यप्रसाद भण्डारीको इजलासले बहुविवाह मुद्दामा पाल थरका पुरुष र उनको डेरामा भेटिएकी भट्ट थरकी युवतीलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतको आदेशअनुसार दुवै प्रतिवादीले जनही ५० हजार रुपैयाँ नगद धरौटी वा सोही बराबरको जेथा जमानत राखी तारिखमा बस्ने गरी रिहा हुने अनुमति पाएका छन् ।
अदालतमा बयानका क्रममा पालले आफूले बहुविवाह नगरेको दाबी गरेका छन् । उनले भट्ट थरकी महिलासँग वैवाहिक सम्बन्धका रूपमा नभई आफूलाई फसाउने उद्देश्यले गरिएको दाबीसमेत गरेका छन् ।
यता ती महिलाले पनि आफूहरुबीच देवर भाउजुको मात्र सम्बन्ध भएको दाबी गर्दै विवाह गरेको पालकी श्रीमतीको दाबी गलत भएको बयान दिएकी छन् । तर, पालकी श्रीमतीले भने श्रीमानले भट्टसँग विवाह गरेर डेरामा राखेको बताएकी थिइन् ।
उनले गत दशैँमा समेत श्रीमान सोही कारण घर नआएको बताउँदै विवाहित भएको थाहा हुँदाहुँदै भट्टले आफ्नो श्रीमानसँग सम्बन्ध बनाएको दाबी गरेकी थिइन् । पालकी श्रीमतीले गत कात्तिक ९ गते सवारी चालक समेत रहेका पाल र भट्ट थरकी महिलालाई उनकै कोठामा चुकुल लगाएर थुनेर प्रहरीलाई बोलाएकी थिइन् ।
त्यसपछि उनीहरुविरुद्ध बहुविवाह मुद्दा दर्ता गरेकी थिइन् । उनीहरुबीच १८ वर्षअघि विवाह भएको थियो । तर, अदालतले दुवै पक्षका बयान, जाहेरी, घटनासम्बन्धी कागजात तथा उपलब्ध प्रमाणको अध्ययनपछि तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै धरौटीमा छाड्ने आदेश गरेको हो ।
अदालतको आदेशमा प्रतिवादीहरूलाई पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दाको पुर्पक्ष गर्न र साक्षीहरूलाई उपस्थित गराउन आवश्यक प्रक्रिया अघि बढाउनसमेत भनिएको छ ।

