

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नेपाली समाज भारत, प्रवासी नेपाली सङ्घ भारत र जनसम्पर्क समिति भारतले संयुक्त प्रेस वक्तव्यमार्फत ज्ञापनपत्र सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्रीसमक्ष भारतमा रहेका नेपालीका साझा समस्या राख्ने उद्देश्यले भेटको समय माग गरिए पनि प्रधानमन्त्रीको कार्यालय र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले समय उपलब्ध नगराएको सङ्गठनहरूको भनाइ छ ।
ज्ञापनपत्रमा भारतमा रहेका नेपालीलाई आधार कार्ड बनाउने प्रक्रिया सहज बनाउन, दोहोरो नागरिकताको समस्यामा परेकालाई न्याय दिलाउन र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ ।
त्यस्तै, प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न, नेपालको सार्वभौमसत्ता र असंलग्न परराष्ट्र नीतिको सम्मान गर्दै राष्ट्रहितविपरीतका सन्धि–सम्झौता नगर्न सरकारलाई आग्रह गरिएको छ ।
सङ्गठनहरूले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली र मौलिक हकको रक्षा गर्नसमेत माग गरेका छन् । शिक्षक तथा कर्मचारीका पेसागत सङ्गठन, ट्रेड युनियन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने तथा पत्रकारमाथि आक्रमण गर्नेजस्ता गतिविधि रोक्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्रमा भारतका शैक्षिक संस्था र अस्पतालमा नेपालीमाथि हुने भनिएको विभेद, अतिरिक्त शुल्क असुली, रोजगारीमा भेदभाव तथा सीमा नाकामा हुने लुटपाट र प्रशासनिक दुर्व्यवहार अन्त्य गर्न कूटनीतिक पहल गर्न आग्रह गरिएको छ ।
संयुक्त ज्ञापनपत्रमा चारै सङ्गठनका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । जसमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, नेपाली समाज भारतका सहसंयोजक आरबी खड्का, प्रवासी नेपाली सङ्घ भारतका सचिवालय सदस्य जीवन शर्मा भुसाल र नेपाली जनसम्पर्क समितिकी सदस्य नन्दी कुमारी न्यौपाने छन् ।



