बालेनको भारत भ्रमणबाट गुटको हैसियत अनुसारबाहेक केही उपलब्धि भएन : झलनाथ खनाल

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट देशले अपेक्षा गरेअनुसार कुनै उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरेका छन् ।

उनले भ्रमणलाई सामान्य नियमित भ्रमणको संज्ञा दिँदै राष्ट्रियता र देशका प्राथमिकताका विषयमा ठोस उपलब्धि हासिल हुन नसकेको बताएका हुन् ।प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै खनालले विगतमा शाहले अघि सारेको ‘ग्रेटर नेपाल’को नक्सा केवल लहड र जनता झुक्याउने विषय भएको आरोप लगाए ।

नेपाल–भारतबीच सीमा समस्या कायमै रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमामा सडक निर्माण गरी उद्घाटन गरेको विषय उठाउँदा पनि प्रधानमन्त्री शाहले कुनै प्रतिवाद नगरेको उनको टिप्पणी छ । ‘भैँसीलाई कनाउँदा भैँसीले जुन आनन्द मान्छ, त्यस्तै गरेर यिनले सुने,’ खनालले भने, ‘नेपालको राष्ट्रियताको सम्बन्धमा कुनै कुरा उठाउने कुरै भएन ।’

खनालले भ्रमणका क्रममा भएका सामान्य समझदारी र लेनदेनलाई नयाँ उपलब्धि मान्न नसकिने बताए । ऋण दिने विषय पहिलेदेखि नै चर्चामा रहे पनि त्यसमा अनुदानसमेत समावेश छ वा छैन भन्ने स्पष्ट नभएको उनको भनाइ छ ।

उनले भारत भ्रमणअघि सरकारले पर्याप्त तयारी नगरेको आरोपसमेत लगाए । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा कुनै एउटा समूहको मात्र नभई सिंगो देशको प्रतिनिधित्व गर्नुपर्ने उल्लेख गर्दै खनालले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, कूटनीतिज्ञ तथा विज्ञहरूसँग परामर्श नगरी भ्रमणको एजेन्डा तय गरिएको बताए ।

‘त्यसले गर्दा त्यही गुटको हैसियतअनुरूपको विषयबाहेक उनले अरू केही पनि प्राप्त गर्न सकेनन्,’ खनालले भने । प्रधानमन्त्री शाहले पुराना अभ्यास तोड्ने नाममा संविधान, स्थापित परम्परा, मूल्य–मान्यता र नियम उल्लंघन गरिरहेको आरोप पनि उनले लगाए ।

भारत भ्रमणलाई परम्परा तोड्ने नयाँ अभ्यासका रूपमा व्याख्या गर्न नमिल्ने भन्दै खनालले नियमित प्रक्रियाका सामान्य विषयमा छलफल गर्न प्रधानमन्त्री नै जानुपर्ने आवश्यकता नरहेको टिप्पणी गरे ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...