भैरहवा एयररूट खुल्दा पोखरा आउने अन्तर्राष्ट्रिय उडानको दुरी २११ किलोमिटर घट्ने

cp new add
Nisharg hospital
Dhangadhi

पोखरा । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति कार्यान्वयनमा आए पोखरा आउने अन्तर्राष्ट्रिय उडानको दुरी २११ किलोमिटरसम्म घट्ने भएको छ।

प्रधानमन्त्रीस्तरमा भएको यो सहमति कार्यान्वयनमा आए पोखरा आउने अन्तर्राष्ट्रिय उडानका जहाजले अहिले प्रयोग गर्दै आएको लामो हवाई मार्गको सट्टा भैरहवा हुँदै नेपाल प्रवेश गर्न सक्नेछन्। प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा दुवै देश हवाई सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले विद्यमान एकतर्फी हवाई मार्गलाई दुईतर्फी बनाउन सहमत भएको उल्लेख छ।

‘प्रधानमन्त्रीहरूले हवाई सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिक उड्डयन सम्बन्धी विषयमा भइरहेको छलफललाई ध्यानमा लिएका छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘दुवै पक्ष विद्यमान एकतर्फी बी ३४५ काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमत भएका छन्।’

वक्तव्य अनुसार सहमति कार्यान्वयनका लागि आवश्यक प्रक्रिया र कार्यविधिलाई अन्तिम रूप दिन तथा नागरिक उड्डयन सम्बन्धी अन्य प्रस्तावमा छलफल गर्न दुवै देशका प्राविधिक टोलीबीच परामर्श हुनेछ। अहिले अन्तर्राष्ट्रिय उडानका जहाज सिमरा एयररूटबाट मात्र नेपाल प्रवेश गर्न पाउँछन्।

भैरहवा एयररूट भने नेपालबाट बाहिरिने जहाजले मात्र प्रयोग गर्न पाउँछन्। यसले गर्दा पश्चिमबाट आउने जहाजले लामो हवाई मार्ग प्रयोग गरेर घुम्नुपर्ने अवस्था छ। यसले हवाई यात्रा लम्ब्याएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीका अनुसार भैरहवा एयररूटबाट नेपाल प्रवेश गर्न पाउँदा पोखरा आउने अन्तर्राष्ट्रिय उडानको दुरी ११४ नटिकल माइल अर्थात् करिब २११ किलोमिटर घट्नेछ।

अहिले दुबईबाट पोखरा आउने फ्लाई दुबईको जहाज भारतीय आकाश हुँदै सिमरा एयररूटबाट नेपाल प्रवेश गर्छ। त्यसपछि काठमाडौं हुँदै पोखरा पुग्छ। तर पोखराबाट दुबई फर्किँदा भैरहवा एयररूट प्रयोग गर्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले फ्लाई दुबईले मात्र नियमित अन्तर्राष्ट्रिय उडान गरिराखेको छ।

‘भैरहवा एयररूट दुईतर्फी सञ्चालनमा आएपछि फ्लाई दुबई भैरहवा हुँदै सिधै पोखरा आउन पाउँछ। यसले पोखरा आउने उडानको दुरी ११४ नटिकल माइल घटाउँछ,’ उनले भनिन्। रूट छोटिँदा उडान अवधि र जहाज सञ्चालन खर्च घट्न सक्ने रेग्मीले बताइन्। ‘भैरहवाबाट नेपाल प्रवेश गर्न पाए जहाजको उडान अवधि घट्छ। उडान अवधि घट्नु भनेको खर्च पनि कम हुनु हो,’ उनले भनिन्, ‘यात्रा छोटो हुँदा टिकट शुल्क पनि घट्न सक्छ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रम गौतमका अनुसार भैरहवा एयररूट दुईतर्फी सञ्चालनमा आए पश्चिमबाट नेपाल प्रवेश गर्ने जहाजको दुरी १५० नटिकल माइल अर्थात् करिब २७८ किलोमिटरसम्म घट्न सक्छ। यसबाट पोखरा र लुम्बिनीका विमानस्थललाई मात्र नभई काठमाडौं र नेपालगञ्ज लगायत विमानस्थललाई पनि लाभ पुग्ने उनले बताए।

‘दुरी छोटो भएपछि जहाजको उडान अवधि घटाउँछ र एयर ट्राफिक व्यवस्थापन गर्न पनि सहज हुन्छ,’ गौतमले भने। अहिले गोरखपुर र सिमराको बीचमा पर्ने क्षेत्रबाट नेपाल प्रवेश गर्दा जहाजले घुमेर आउनुपर्ने अवस्था छ। भैरहवा एयररूट दुईतर्फी भए यो बाध्यता हट्ने अपेक्षा गरिएको उनले बताए। प्रधानमन्त्रीस्तरमा भएको सहमतिले तत्कालै उडान रूट परिवर्तन हुने भने होइन।

भैरहवा हुँदै जहाजलाई कुन उचाइमा नेपाल प्रवेश गर्न दिने, उडान प्रक्रिया कस्तो हुने र हवाई ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा दुई देशका प्राविधिक टोलीले छलफल गर्नुपर्नेछ। प्राविधिक अध्ययन र आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सहमति कार्यान्वयनमा आउने प्रवक्ता गौतमले बताए। नेपाल आउने अधिकांश अन्तर्राष्ट्रिय उडान भारतीय आकाश हुँदै सञ्चालन हुन्छन्।

मध्यपूर्वबाट आउने जहाज पाकिस्तान हुँदै भारत प्रवेश गरेर नेपाल आउँछन्। लखनऊ क्षेत्रबाट भैरहवा हुँदै नेपाल प्रवेश गर्न पाए पश्चिमबाट आउने उडानको दुरी र समय घट्न सक्ने अधिकारीहरूको भनाइ छ। पोखरा विमानस्थलकी प्रवक्ता रेग्मीले भनिन्, ‘भैरहवा एयररूट दुईतर्फी बनाउने सहमति लागू भएपछि पोखराबाट उड्ने जहाजले पनि भरतपुर हुँदै भैरहवा एयररूटबाट भारतीय आकाश प्रवेश गर्न सक्नेछन्।’ यसले पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई पनि सहज बनाउन सक्छ।

फ्लाई दुबईको सीमित उडानमा निर्भर रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि छोटो हवाई मार्गले सञ्चालन खर्च घटाउने सम्भावना देखाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...