म आफ्नै अनुपस्थितिमा बाँचेको मान्छे

cp new add
Nisharg hospital
Dhangadhi

आज कसैले सोध्यो,
तिमी पहिले जस्तो किन छैनौ ?

म मुस्कुराएँ,
र आफ्नै अनुहारभित्र
एउटा चिहान लुकाएर हिँडिरहेको मान्छेले
कति जवाफ दिन सक्छ र १

म कुनै दिन
ठूलो सपना बोकेर हिँडेको थिएँ,
आँखामा उज्यालो,
छातीमा आँट,
र हातभरि सम्भावनाहरू थिए ।

तर समयले
मेरा रहरहरूलाई
एकएक गरी अदालतमा उभ्यायो,
परिस्थितिले दोषी ठहर गर्‍यो,
र बाध्यताले
जन्मकैद सुनाइदियो ।

म निर्दोष थिएँ कि थिइनँ,
त्यो फैसला गर्न सकिनँ,
तर आफ्नै सपनाहरूको मृत्युमा
म उपस्थित थिएँ ।

म चुपचाप हेरिरहेँ,
एउटा सपना भोकले मर्‍यो,
अर्को जिम्मेवारीले,
अर्को घरको अभावले,
अनि अन्तिम सपना
मेरो आफ्नै डरले मारिदियो ।

कसैले शोक मनाएन,
कसैले मलामी बनेर आएन,
किनकि ती सपनाहरू
मेरो छातीभित्र मरेका थिए ।

आज पनि
कहिलेकाहीँ मध्यरातमा
पुराना रहरहरू ढोका ढकढक्याउँछन्,
हामीलाई किन छोड्यौ ?
भनेर सोध्छन् ।

म ढोका खोल्न सक्दिनँ,
मसँग उनीहरूलाई देखाउने
कुनै सुन्दर भविष्य छैन ।

केवल केही थान अधुरा वाचा छन्,
केही च्यातिएका साहसहरू छन्,
र एउटा जिन्दगी छ,
जो बाँचिरहेको अभिनयमा
दिनदिनै थाकिरहेको छ ।

मलाई अब
कसैले असफल नभनिदिए हुन्थ्यो,
म असफल भएको होइन,
म त परिस्थितिका अगाडि
आफ्नो अस्तित्व जोगाउन खोज्दा
आफैँबाट टाढा पुगेको मान्छे हुँ ।

कुनै दिन
म पनि हावासँगै उड्न चाहन्थेँ,
नदीझैँ आफ्नै बाटो बनाउन चाहन्थेँ,
आकाशलाई छुन नसके पनि
कम्तीमा आफ्नै उचाइमा बाँच्न चाहन्थेँ ।

तर आज,
मेरा खुट्टामा बाटोभन्दा बढी बाध्यता छन्,
मेरो ओठमा गीतभन्दा बढी मौनता छ,
र मेरो मुटुमा
जीवनभन्दा बढी
जीवनसँग गरिएका सम्झौताहरू छन् ।

यदि कुनै दिन
म फेरि हाँसेँ भने,
त्यो हाँसोभित्र
मेरा मरेका सपनाहरूको आत्मा नखोज्नु ।

यदि कुनै दिन
म फेरि उठेँ भने,
त्यसलाई चमत्कार नसम्झनु ।

किनकि म
मरेको मान्छे होइन,
म त आफ्नै सपनाहरूको मलामी गएर
फर्किएको मान्छे हुँ ।

र अझै पनि
कुनै कुनामा
एउटा सानो रहर बाँकी छ—

सायद एक दिन,
म आफ्नै लागि बाँच्नेछु ।

त्यस दिन
म आफ्नो अनुपस्थितिबाट
फेरि उपस्थित हुनेछु ।

भुवन ओझा

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...