

सरोकारवालासँग छलफल नगरी ल्याइएको ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको भन्दै कर्मचारीहरूले विरोध जनाएका हुन् । आन्दोलनरत कर्मचारीहरूले अध्यादेश र नियमावली खारेज गर्नुपर्ने, मन्त्रालय तथा मन्त्रीको हस्तक्षेप रोक्नुपर्ने र संस्थाको स्वायत्तता कायम गर्नुपर्ने माग राखेका छन् ।
उनीहरूले खुला प्रतिस्पर्धाबाट सक्षम नेतृत्व चयन गर्नुपर्ने, पुरानो ऐनअन्तर्गत नियुक्त कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्नुपर्ने तथा अनुसन्धान बजेट बढाएर प्रयोगशालाहरूलाई सुदृढ बनाउनुपर्ने माग पनि अघि सारेका छन् ।
कर्मचारीहरूले विज्ञान क्षेत्रका दक्ष जनशक्तिलाई पलायन हुनबाट रोक्नुपर्ने, स्वदेशी प्रतिभालाई अवसर दिनुपर्ने र अनुसन्धानका लागि स्वतन्त्र वातावरण बनाउनुपर्ने बताएका छन् । त्यस्तै, नयाँ संरचनाका नाममा अनावश्यक खर्च बढाउनुको सट्टा अनुसन्धान तथा वैज्ञानिक जनशक्तिको क्षमता विकासमा लगानी गर्नुपर्ने उनीहरूको माग छ ।
आन्दोलनरत कर्मचारीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।
१२ बुँदे माग अघि सारेका कर्मचारीहरूले ‘विज्ञान बचाऔँ, वैज्ञानिक जोगाऔँ, देश बनाऔँ’ भन्ने नारासहित माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने बताएका छन् ।


