

धनगढी । डडेल्धुराका एक जनाको भारतमा मृत्यु भएको छ । महाराष्ट्रस्थित नासिकमा बाथरुममा अचानक लडेर डडेल्धुराको अजयमेरु गाउँपालिका–२ डूडला घर भएका हरिलाल ऐरको मृत्यु भएको हो ।
बाथरुममा अचानक लडेपछि उनको मृत्यु भएको जानकारी प्राप्त भएको सुदूर सांस्कृतिक समाज नासिकले जनाएको छ।
हाल उनको पार्थिव शरीर नासिकस्थित सिभिल अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।
घटनाबारे जानकारी पाएपछि सुदूर सांस्कृतिक समाज नासिकका सदस्यहरू अस्पताल पुगेका छन्। उनीहरूले घटनासम्बन्धी थप जानकारी लिने, आवश्यक सहयोग गर्ने तथा परिवारसँग समन्वय गर्ने पहल गरिरहेको जनाएका छन्।
समाजले मृतकलाई चिन्ने तथा उनका आफन्तजनलाई सम्पर्कमा आउन आग्रह गरेको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

