

जापान । उज्जवल भविष्यको सपना बोकेर केही महिनाअघि मात्र जापान पुगेकी कैलालीकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । मृत भेटिनेमा लम्कीचुहा नगरपालिका–६ बाहुनपुर घर भएकी गोमा राउत रहेकी छन् ।
निशी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत राउत स्थानीय शोवा जनरल अस्पतालमा निधन भएको जानकारी प्राप्त भएको छ । उनको मृत्यु रहस्यमय भन्दै पार्थिव शरीरलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रहरीको नियन्त्रणमा राखेको छ ।
घटनासम्बन्धी थप अनुसन्धान तथा प्रशासनिक प्रक्रिया अगाडि बढिरहेको छ। विदेशी भूमिमा अध्ययनसँगै उज्ज्वल भविष्यको सपना बोकेर अघि बढिरहेकी गोमा राउतको निधनको खबरले जापानमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ ।
उनी करीब आठ महिना अघि मात्र लम्कीबाट अध्ययन भिषामा जापान पुगेकी थिइन् । उनीसँगै बस्दै आएकी अर्की नेपाली युवतीले फोन गरेर राउतका दाजुलाई घटनाबारे जानकारी गराएकी थिइन् ।
उनीहरु त्यहाँ कोठामा तीन जना बस्दै आएका थिए । राउत केही दिनदेखि काममा नजाने गरेको पाइएको छ । मृतक राउत ७ चार दिदीबहिनी र तीन दाजुभाई छन् । उनको मृत्युको खबरले सुन्दर भविष्यको सपना देखेर जापान पठाएको परिवार शोकमा डुबेको छ । यो घटनाबारे जापान प्रहरीले अनुसन्धान गरिरहेको छ ।

