

धनगढी । बाजुराको मनिकाँडा गाउँ यतिबेला शोकमग्न छ ।
शुक्रबार जगन्नाथ गाउँपालिका–३ को दाउणामा पिलुचौरबाट मनिकाँडातर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर दुर्घटनामा गाउँका तीन जनाको मृत्युको खबरले गाउँ शोकमग्न भएको हो ।
दुर्घटनामा काका–भतिजा समेत रहेका धर्म शाही र धनरुप शाहीसँगै रामशरा देवी शाही सिंहले ज्यान गुमाएका छन् । उनीहरु सोही गाउँका बासिन्दा हुन् । धर्म शाही र धनरुप घटनास्थलमै मृत्यु हुँदा रामशराको भने उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो दुर्घटना मनिकाँडाकै ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड र २२ वर्षीया संगीता शाही पनि घाइेत भएका छन् भने चालक अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहरा पनि घाइते छन् । दुर्घटनामा परेको ट्याक्टर बालुवा बोकेर मनिकाँडातर्फ गइरहेको थियो ।
दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएकाहरु जगन्नाथ गाउँपालिकाको मुकाम जुड्डीबाट तीन दिने अगुवा कृषक तालिम लिएर फर्किरहेका थिए । गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीकाअनुसार तालिम सकेर उनीहरु शुक्रबार गाउँ फर्किरहेका थिए ।
करीब डेढ घण्टा उकालो पैदल हिडेका उनीहरुलाई घर पुग्न १५ देखि २० मिनेटको समय मात्रै लाग्ने थियो । तर, त्यही उनीहरुले वालुवा बोकेर गइरहेको ट्याक्टर भेटे र त्यही ट्याक्टरमा बसेका थिए ।
तर, केही अघि बढ्न नपाउदै ट्याक्टर अनियन्त्रित भएर सडकबाट करीब पाँच सय मिटर तल खस्यो । यो दुर्घटनाले मनिकाँडा गाउँमा बज्रपात पारेको छ । शोकमा डुबेको मनिकाँडाबासी मृतकप्रती श्रद्धासुमन अर्पण गरिरहेका छन् भने घाइते सबैको स्वास्थय लाभको कामना गरिरहेका छन् ।

