देउवालाई समानुपातिक सूची सच्याउन शेखरको खबरदारी

cp new add
Nisharg hospital
suchana

८ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सच्याउन पार्टी नेतृत्वलाई खबरदारी गरेको छ ।

समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उनीहरुले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् ।

नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठेरो पर्ने बताए । ‘समानुपातिकमा त देखाउन मिल्ने मान्छे राख्नुस् । अहिले प्रदेश १ बाट राखेका मान्छे हामीनै चिन्दैनौं, यस्तो नाम राख्न कसले दियो अधिकार ?’ उनले प्रश्न गरे ।

पार्टीमा न्यायोचित रुपमा टिकट वितरण नभए ४० प्रतिशत भाग चाहिने घिमिरेले बताए । ‘४० प्रतिशतको भाग खोज्ने प्रतिपादक तपाईं (देउवा) हो । हामी तपाईकै बाटोमा छौं’ उनले भने ‘कार्यकर्तालाई न्यायोचित अवसर चाहिन्छ । ४० प्रतिशत भन्दा १ प्रतिशत पनि मञ्जुर छैन । अब टुलु टुलु हेरेर हामी बस्दैनौं ।’

उनले सत्तारुढ गठबन्धनको बैठकमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने बताए । पार्टीभित्र न्यायोचित अवसरका लागि शेखर पक्षका पदाधिकारी र नेताहरुलाई खुट्टा नकमाउन पनि घिमिरेले आग्रह गरे ।

नुवाकोटका पूर्वसभापति जगदिश्वर नगरसिंह केसीले समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगले दिएको समय असोज १६ गतेभित्र नसच्याए प्रतिवादमा उत्रिने समेत बताए ।

‘समानुपातिकमा हामीले दिएका नाम काटिएका छन् । १६ गतेसम्म नसच्याए हामी प्रतिवादमा उत्रन्छौं’ उनले भने, ‘समानुपातिक सूची १६ गतेसम्म सच्चिएन भने नयाँ बाटोका लागि तपाईं सबै तयार रहनुस् ।’

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सभापति शेरबहादुर देउवाले पार्टीका लागि भन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै आपत्ति जनाए ।
‘बिहानदेखि बेलुकासम्म कांग्रेसको लागि बालुवाटारमा वैठक हुँदैन । भातृसंस्था लथालिङ्ग पारेर चुनावमा जान किन कांग्रेस खोजिरहेको छ ? भातृ संस्थालाई पूर्णता दिने पार्टीको निर्णय किन कार्यान्वयन भएन ?’ उनले प्रश्न गरे ।
उम्मेदवार छनोटमा शेखर पक्षलाई ४० प्रतिशत दिनैपर्ने उनले बताए ।

‘महाधिवेशनमा हामीले ४० प्रतिशत मत ल्याएको औचित्य के हो? हामीलाई ४० प्रतिशत चाहिन्छ चाहिन्छ । पार्टीमा भाग हामीले मात्रै खोजेका होइनौ । शेर बहादुर देउवाले विगतमा खोजेका हुन् कि होइनन् ?’ आचार्यले प्रश्न गरे ।
तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको आरोप लगाए ।

‘समानुपातिक तर्फको नाममा एकलौटी गरिएको छ । केन्द्रीय सदस्यमा देउवालाई बहुमत छ । केन्द्रीय सदस्यमा बहुमत पुगेर मात्र चुनावमा बहुमत आउँछ ? मत दिने त जनताले होला नि’ उनले भने ।

पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदीले कांग्रेस विचारको हो कि ब्रिफकेसको भनी प्रश्न गरे । ‘कांग्रेसमा विचार मरेको छ । जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ । बहुमतको नाममा विभेद गर्न पाइँदैन’ उनले भने ।

डोटीका नेता भरत खड्काले उम्मेदवार छनोट न्याय संगत नभए शेखर पक्षले देशभर उम्मेदवारी दिने आँट गर्नुपर्ने बताए । ‘प्रचण्ड र माधव नेपालले बाँडने टिकट हामीलाई स्वीकार्य छैन । तालमेल गर्नै हुँदैन । आफ्नो असहमति राख्न पार्टीमा पाइन्छ’ उनले भने ।

निवर्तमान सांसद तेजुलाल चौधरीले मधेशमा कांग्रेसलाई अन्याय नहुने गरी गठबन्धन गर्नुपर्ने बताए । ‘मधेशको ३२ सिटमा कांग्रेसले २० सिट कम्तीमा लिनुपर्छ । छोड्दै जाने हो भने कांग्रेस मधेशमा सकिँदै जान्छ’ चौधरीले भने ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...