संसद्‍मा मुसा ‘आतंक’, कर्मचारी भन्छन् : यति ठूला छन् कि बिरालै डराउँछन्

cp new add
Nisharg hospital
suchana

काठमाडौँ । न्युयोर्क सहरका मेयर एरिक आडम्सले २०२२ मा एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘मलाई चिन्ने सबैलाई एउटा कुरा थाहा छ कि मलाई मुसा मनै पर्दैन ।’ तिनै मेयर आडम्सलाई गत वर्ष भने मुसाले दिनु दु:ख दियो ।

न्युयोर्कका स्थानीयलाई मुसाले हैरान मात्र पारेन, मेयर आडम्सले मुसा नियन्त्रणका लागि एक जना सल्लाहकार तहको कर्मचारी नै नियुक्त गर्नुपर्‍यो । इतिहासमै पहिलो पटक मुसा नियन्त्रण निर्देशक नियुक्त गरेपछि उक्त कदमको संसारभर चर्चा भएको थियो । मेयर आडम्सले लामो समय सार्वजनिक शिक्षा प्रणाली सुधारमा काम गरेकी क्याथलिन कोर्राडीलाई मुसा नियन्त्रणका लागि जिम्मा दिएका थिए ।

न्युयोर्कमा जस्तै यतिबेला पाकिस्तानी संसद्‍मा पनि मुसाले ‘आतंक’ मच्चाइरहेको छ । बीबीसीका अनुसार पाकिस्तानी संसद्‍ भवनमा ‘जता हेर्‍यो, त्यतै मुसा’ को अवस्था छ । संसद् कार्यालयका अधिकारीले पुराना फाइल खोज्ने क्रममा मुसा-आतंक पत्ता लगाएका हुन् । सन् २००८ को फाइल खोज्दा अधिकांश पेज मुसाले काटेको पाइएको थियो ।

पाकिस्तानी राष्ट्रिय सभाका प्रवक्ता जफर सुल्तानले बीबीसीसँग भनेका छन्, ‘यो तलामा यति ठूला मुसा छन् कि बिरालो पनि तिनलाई देखेर डराउँछन् ।’ पाकिस्तानी सभाहलहरूलाई ‘मुसामुक्त’ बनाउन हरेक वर्ष १२ लाख पाकिस्तानी रुपैयाँ बजेट छुट्याइने गरेको छ । संसद् भवनको पहिलो तलामा धेरै मुसा भेटिएका छन् जहाँ संसद्को प्रतिपक्षी दलका नेताको कार्यालयसमेत छ । साथै अधिकांश राजनीतिक दल तथा स्ट्यान्डिङ कमिटीको बैठक पनि यही तलामा हुने गरेको बीबीसीले जनाएको छ ।

पहिलो पटक संसद् भवन पुग्नेहरूले मुसाका कारण डराउने गरेको समेत त्यहाँका कर्मचारीको भनाइ छ । संसद्का एक कर्मचारी भन्छन्, ‘जब साँझ पर्छ, यहाँ कोही हुँदैन । त्यसपछि मुसा यस्तरी दौडिन्छन् कि म्याराथन दौड चलिरहेको छ । यहाँ काम गर्ने कर्मचारीलाई त बानी परिसक्यो तर कोही पहिलो पटक आएका छन् भने तिनीहरूचाहिँ पक्कै डराउँछन् ।’ मुसा नियन्त्रणका लागि सरकारले अखबारमा विज्ञापनसमेत छपाएको छ । अहिलेसम्म २ वटा कम्पनीले मुसा नियन्त्रणमा चासो देखाएको बीबीसीको समाचारमा उल्लेख छ ।

न्युयोर्कमा मुसा नियन्त्रणका लागि कार्बन मोनोक्साइड पम्प गरी मुसालाई प्वालभित्रै समाप्त पार्ने विधि प्रभावकारी मानिएको छ । विष र पासोको प्रयोग गर्दा घरपालुवा जनावर र अन्य वन्यजन्तुका लागि असुरक्षित अवस्था सिर्जना हुने हुँदा यो विधि नै प्रभावकारी मानिएको छ । न्युयोर्कका यार्डहरू, पार्कहरू, प्वालहरू, रूखका खाडलहरूमा कार्बन मोनोक्साइड पम्प गरिएको थियो । मुसाहरू मर्नु अगाडि निद्रामा जाने भएकाले यो विधि बढी मानवीयसमेत रहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...