

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरण सम्बन्धी मुद्दाको फैसलामा ढिलाइ भइरहेको पाइएको छ । २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या गरिएका बडुवालको मुद्दाको अन्तिम फैसलामा ढिलाइ भइरहेको हो ।
कैलाली प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुख्य अभियुक्त भनिएका नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
पटक–पटकको सुनवाइपछि २६ चैत २०८० मा जिल्ला अदालतका तत्कालीन न्यायाधिश विष्णुप्रसाद अवस्थीको इजलाशले प्रतिवादीको बयान लिने र वादी पक्षको बकपत्र गराउने काम सकेको पाइएको छ । त्यसपछि अन्तिम सुनवाइका लागि जिल्ला अदालतले पेशी तोकेपनि वादी जिल्ला सरकारी वकिलको कार्यालय र प्रतिवादीका कानुन व्यवसायी(वकिल) ले विभिन्न कारण देखाएर पेशी सार्दै आएको पाइएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी समेत रहेका शाखा अधिकृत कमल घलेले तत्कालीन न्यायाधिश अवस्थीको इजलाशले गत २६ चैतमा टिपोट तयार गरेर पेश गर्न आदेश दिएको तर अहिलेसम्म सुनवाइको प्रक्रियामा जान नसकेको बताए ।
उनकाअनुसार पछिल्लो पटक ३० साउनमा पेशी तोकिएको थियो तर जिल्ला सरकारी वकिलको कार्यालयले नै स्थगित गराएको थियो । ६ महिनाको अवधीमा सरकारी वकिलको कार्यालयकातर्फबाट तीन र प्रतिवाठदीका कानुन व्यवसायीको तर्फबाट चारपटक पेशी स्थगीत गरिएको देखिएको शाखा अधिकृत घलेले बताए ।
ठूलो चलखेलको आशंका
सरकारी वकिल कार्यालय र प्रतिवादी पक्षका कानुन व्यवसायीले पटक–पटक मुद्दाको पेशी सारेपछि मुद्दालाई कमजोर पार्ने चलखेल भइरहेको आशंका पीडित पक्षले गरेको छ । मृतकका ठूलो बुवा भगत बडुवालले प्रतिवादी पक्षले कानुन व्यवसायीमार्फत प्रशासन र अदालतलाई प्रभावित पार्ने उद्देश्यले अन्तिम फैसलामा ढिलाइ भइरहेको हुनसक्ने बताए ।
‘वकिलमार्फत चलखेल गरेर प्रशासन र अदालतलाई प्रभावित गर्न सकिन्छ की भन्ने उद्देश्यले अन्तिम फैसला गर्न तोकिएको पेशी सार्ने काम हुँदैछ भन्ने सुनिएको छ,’ बडुवालले भने, ‘तर अदालतले ‘छिटो फैसला गरेर भुपेन्द्रको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो ।’
तर सरकारी वकिलको कार्यालयले भने मुद्दा ठूलो भएकाले विभिन्न कारणले पेशी सार्नपर्ने अवस्था आउने गरेको दाबी गरेको छ । सहायक जिल्ला न्यायाधिवक्ता एवंम् सूचना अधिकारी प्रयागदत्त जैशीले ठूलो मुद्दा भएकाले कहिले अध्ययन नपुगेको त कहिले सरकारी वकिलको समय नभ्याउने जस्ता कारण पेशी सारिदै आएको बताए ।
‘यो ठूलो मुद्दा छ । अध्ययन गरेर मात्र बहस गर्नुपर्ने हुन्छ तर कहिले अध्ययन गर्न पाइएको हुँदैन । न्यायाधिश पनि नयाँ आएका कारण कहिले उहाँहरुले अध्ययन पुगेको छैन भन्नुहुन्छ,’ जैशीले भने, ‘त्यसैले पेशी सार्ने हो । अन्य कुनै कारण छैन ।’
जिल्ला अदालतले विशेष कारण बाहेक वादी र प्रतिवादी पक्षले तीन पटकसम्म पेशी सार्न सक्ने जनाएको छ । यो मुद्दामा वादी सरकार पक्ष, सरकारी वकिलको कार्यालयले तीन र प्रतिवादीका कानुन व्यवसायीले चारपटक पेशी सारिसकेका छन् ।
अर्को पेशी १३ असोजमा तोकिएको छ । भइपरी आउने विशेष अवस्था बाहेक दुवै पक्षले पेशी सार्न निवेदन दिनसक्ने अवस्था नदेखिएकाले उक्त दिन अन्तिम फैसला हुनसक्ने जिल्ला अदालतले जनाएको छ ।
बडुवालको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । उनीहरु मध्ये १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई कारागार चलान गरिएको थियो भने केही घटना भएदेखि अहिलेसम्म फरार छन् ।

