

सशस्त्र प्रहरीको रिक्त डीआईजी पदमा बढुवा प्रक्रिया अघि, कार्यक्षमतामा जोड
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा लामो समयदेखि रिक्त रहेको नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। मन्त्रालय स्रोतका अनुसार केही दिनभित्रै बढुवा टुंग्याउने तयारी भइरहेको छ।
सशस्त्र प्रहरीमा डीआईजी पद महिनौँदेखि रिक्त रहँदै आएको थियो। यसअघि निर्वाचनका कारण बढुवा प्रक्रिया रोकिएको भए पनि नयाँ सरकार गठन भएको दुई सातासम्म पनि प्रक्रिया अघि नबढ्दा आलोचना बढेको थियो। त्यसपछि गृह मन्त्रालयले आवश्यक गृहकार्य थालेको स्रोतले जनाएको छ।

मन्त्रालय स्रोतका अनुसार यसपटक विगतमा सोर्सफोर्स र राजनीतिक चलखेलका आधारमा बढुवा भएकालाई ‘नकारात्मक सूची’मा राख्ने तयारी गरिएको छ। यसका कारण वरियतामा अगाडि रहेका केही अधिकारीसमेत बढुवाबाट बाहिरिन सक्ने सम्भावना रहेको बताइएको छ।
गृह मन्त्री सुधन गुरुङले विगतमा राजनीतिक पहुँच नपाएका तर सक्षम अधिकृतलाई प्राथमिकता दिन गृहसचिव राजकुमार श्रेष्ठलाई निर्देशन दिएको स्रोतको दाबी छ। आवश्यक परे मन्त्री गुरुङ स्वयंले बढुवाका आकांक्षीहरूको अन्तर्वार्ता समेत लिन सक्ने तयारीमा रहेको बताइएको छ।
‘ज्येष्ठता मात्र होइन, कार्यक्षमताका आधारमा बढुवा हुनुपर्छ भन्ने मन्त्रीज्यूको स्पष्ट धारणा छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही अनुसारको गृहकार्यका कारण प्रक्रिया केही ढिलो भएको हो।’
बढुवामा सिन्स २ का एसएसपीहरू मुख्य दाबेदार रहेका छन्। दिग्विजय सुवेदी, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुदिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, राजेन्द्र खड्का, उद्धव न्यौपाने, नरेन्द्र सेन, शंकर खनाल र किरण ढुंगाना वरियतामा अगाडि छन्।
तर, यसपटक कार्यक्षमता र विगतको बढुवा इतिहासलाई समेत आधार बनाइने भएकाले उनीहरुभन्दा पछि रहेका एसएसपीहरू पनि बढुवामा समेटिने सम्भावना रहेको स्रोतले जनाएको छ।

