

काठमाडौँ । होर्मुज जलडमरूमा भारतीय झण्डा बोकेका दुई जहाजमाथि भएको गोलीबारीको घटनाप्रति भारतले गम्भीर चिन्ता व्यक्त गरेको छ । भारतले नयाँ दिल्लीस्थित इरानी राजदूतसँग औपचारिक रूपमा आपत्ति जनाएको हो ।
शनिबार होर्मुज जलडमरू हुँदै गइरहेका भारतीय झण्डावाहक दुई जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको थियो । बीबीसी पर्शियनका अनुसार ट्यांकरहरूको आवागमन निगरानी गर्ने वेबसाइट ‘ट्यांकरट्र्याकर्स’ले सो क्रममा गोलीबारीसमेत भएको जनाएको छ ।

उक्त वेबसाइटका अनुसार च्यानल १६ को अडियो रेकर्डिङका आधारमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरको नौसेनाले जलडमरूको पश्चिमी भागमा यात्रा गरिरहेका दुई भारतीय जहाजलाई फर्कन बाध्य पारेको थियो ।
यसअघि बीबीसी भेरिफाइले दिएको जानकारीअनुसार जलडमरू पुनः खोल्ने क्रममा भारतीय झण्डावाहक कार्गो जहाज ‘जग अर्नव’ र तेल ट्यांकर ‘सनमार हेराल्ड’लाई आईआरजीसीले निर्धारित मार्ग परिवर्तन गर्न निर्देशन दिएको थियो ।
मरीन ट्र्याकिङ डाटाअनुसार ती जहाजहरू लारक टापु पार गरेपछि गति कम गर्दै ‘यू(टर्न’ लिएर फर्किएका थिए । ‘सनमार हेराल्ड’ पूर्ण रूपमा तेलले भरिएको देखिएको छ र हालको ट्र्याकिङ डाटाका आधारमा उक्त तेल इराकबाट आएको हुन सक्ने अनुमान गरिएको छ ।
यस घटनाबारे भारतमा रहेका इरानी सर्वोच्च नेताका प्रतिनिधि डा। अब्दुल मजीद हकीम इलाहीले आफूलाई विस्तृत जानकारी नभएको बताउँदै इरान–भारत सम्बन्ध मजबुत रहेको र समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन् । उनले ‘हामी युद्ध चाहँदैनौं, शान्ति चाहन्छौं’ भन्दै क्षेत्रीय शान्तिको पक्षमा रहेको उल्लेख गरे ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार शनिबार साँझ इरानी राजदूतलाई विदेश सचिवसँग छलफलका लागि बोलाइएको थियो ।
बैठकमा विदेश सचिवले भारतीय जहाजमाथिको गोलीबारीप्रति चिन्ता व्यक्त गर्दै व्यापारिक जहाज र नाविकहरूको सुरक्षालाई भारतले उच्च प्राथमिकता दिएको बताएका थिए । साथै उनले भारततर्फ आउने जहाजहरूको सुरक्षित आवागमन यथाशीघ्र पुनः सुनिश्चित गर्न आग्रह गरेका थिए ।
इरानी राजदूतले भारतको चिन्तालाई आफ्नो सरकारसम्म पुर्याउने आश्वासन दिएका छन् ।

