

डोटी जिल्लास्थित बडीकेदार मन्दिर मा जेठ १७ र १८ गते वार्षिक मेला लाग्ने भएको छ। शिवमन्दिरका रूपमा प्रसिद्ध उक्त स्थलमा केदारनाथ बाबाको रूप मानी पूजाआजा गरिन्छ।
विशेषगरी सन्तान नहुने दम्पतीहरूले यहाँ पूजा गर्दा सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको छ। यही आस्थाका कारण सुदूरपश्चिम प्रदेश, कर्णालीको दैलेख तथा भारतका उत्तरप्रदेश र उत्तराखण्डबाट समेत भक्तजन आउने गरेका छन्। यस मन्दिरमा कात्तिक पूर्णिमा र महाशिवरात्रि का अवसरमा पनि विशेष पूजा तथा मेला लाग्ने गर्दछ। बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार मन्दिरमा बाह्रै महिना पूजाआजा गर्न सकिने व्यवस्था मिलाउने तयारी भइरहेको छ। साथै, मेलालाई व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिएको उनले जानकारी दिए।

मेलामा आउने भक्तजनका लागि सामान्य खानपान र बसोबासको व्यवस्था गरिने जनाइएको छ। यद्यपि हाल पर्याप्त पूर्वाधारको अभाव रहेकोले दीर्घकालीन रूपमा सुविधा विस्तारका लागि निर्माण कार्य अगाडि बढाइएको समितिले जनाएको छ।

