

धनगढी । सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जिल्लाका धार्मिक तथा अन्तरधार्मिक अगुवाहरूले समाजमा जरा गाडेर बसेका सबै प्रकारका विभेद र गलत अभ्यासविरुद्ध संगठित रूपमा उत्रिने ऐतिहासिक घोषणा गरेका छन्।
धनगढीमा सम्पन्न दुईदिने विशेष कार्यशालापछि जारी गरिएको नौबुँदे ‘धनगढी घोषणापत्र’मार्फत उनीहरूले महिनावारी विभेद, बालविवाह तथा लैङ्गिक हिंसाजस्ता गम्भीर सामाजिक समस्याहरूलाई आगामी एक वर्षभित्र उन्मूलन गर्ने संकल्प सार्वजनिक गरेका हुन्।

‘सुरक्षित किशोरी परियाेजना’ अन्तर्गत आयोजित कार्यशालामा सहभागी अगुवाहरूले धर्म र संस्कृतिको नाममा भइरहेका विभेदकारी अभ्यास अन्त्य गर्न धार्मिक शास्त्रहरूको सकारात्मक तथा वैज्ञानिक व्याख्या गर्ने प्रतिबद्धता जनाएका छन्।
उनीहरूले महिनावारीलाई अशुद्धता नभई प्राकृतिक र पवित्र जैविक प्रक्रिया भएको स्पष्ट पार्दै समुदायमा यसबारे व्यापक सचेतना फैलाउने बताएका छन्।
घोषणापत्रमा नेपालको राष्ट्रिय सभाले २०८१ चैत ८ गते पारित गरेको मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्तावलाई मार्गदर्शक दस्तावेजका रूपमा स्वीकार गरिएको उल्लेख छ। सोही आधारमा महिलालाई महिनाभर समान व्यवहार गर्ने, महिनावारीका समयमा हुने विभेद अन्त्य गर्ने तथा ‘मर्यादित महिनावारी मैत्री घर–टोल’ निर्माणमा अग्रसर हुने योजना अघि सारिएको छ।
बालविवाह उन्मूलनका लागि विद्यमान कानुनी प्रावधानहरूको कडाइका साथ कार्यान्वयन गराउन धार्मिक अगुवाहरूले भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। मुलुकी अपराध संहिता २०७४ अनुसार २० वर्ष नपुगी गरिने विवाह गैरकानुनी हुने भएकाले यसलाई धार्मिक रूपमा समेत निषेध गरिएको घोषणापत्रमा उल्लेख छ।
यस विषयमा गाउँस्तरसम्म सचेतनामूलक अभियान सञ्चालन गरिने जनाइएको छ। त्यस्तै, प्रविधिको दुरुपयोगबाट बढ्दो लैङ्गिक हिंसाप्रति घोषणापत्रले गम्भीर चासो व्यक्त गरेको छ। फेसबुक, म्यासेन्जरलगायत सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहारविरुद्ध ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
धार्मिक अगुवाहरूले आफूलाई पूजा–पाठमा मात्र सीमित नराखी सामाजिक रूपान्तरणका संवाहकका रूपमा उभ्याउने दृढता व्यक्त गरेका छन्। आगामी एक वर्षसम्म आ–आफ्ना कार्यक्षेत्रमा रहेका आमा समूह, किशोरी समूह तथा धामी–झाँक्री समूहका नियमित बैठकमा यी मुद्दाहरूलाई प्राथमिकताका साथ छलफल गरिने जनाइएको छ। साथै, स्थानीय तहको नीति, योजना तथा बजेटमा मर्यादित महिनावारी र लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम समावेश गराउन पहल गरिनेछ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोगमा गुड नेभर्स इन्टरनेशनल नेपालसँगको सहकार्यमा वाक नेपाल, सेबक नेपाल र गिफ्ट नेपालद्वारा सञ्चालित यस कार्यक्रमले किशोरी तथा युवतीका लागि सुरक्षित, सम्मानजनक र समान वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ।
महिनावारी अभियन्ता डा. राधा पौडेल र पत्रकार गोविन्द खड्काले तालिमको सहजीकरण गरेका थिए। कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, २० भन्दा बढी धार्मिक अगुवा तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

