

प्यूठान । घरायसी विवादका क्रममा पेट्रोल छर्किँदा आगो लागेर बुवा–छोरी गम्भीर घाइते भएका छन् ।
प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षीय सानू नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घरायसी झगडाका क्रममा बुवा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल खनाई आगो लगाउने प्रयास गरेका थिए ।
सोही क्रममा छोरी अञ्जलीले रोक्ने प्रयास गर्दा पेट्रोल खोसाखोस भएको र दुबै जना जलेर घाइते भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
घाइते दुवै जनाको प्रारम्भिक उपचार जिल्ला अस्पतालमा गरिएको र अवस्था गम्भीर रहेकाले थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ ।

