

धनगढी । कैलालीमा उपचारका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवान महेश महताको मंगलबार हिन्दु परम्पराअनुसार गोदावरीमा अन्त्येष्टि गरिएको छ। आइतबार राति एक्कासी बिरामी परेका महताको उपचारकै क्रममा मृत्यु भएको थियो।
सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिमरत महतालाई दाहसंस्कारअघि शिक्षालयले सलामी अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली दिएको थियो। अन्त्येष्टिमा परिवार, आफन्त र सशस्त्र प्रहरीका अधिकृतहरूको उपस्थिति रहेको थियो। शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सूर्यबहादुर सेन ओली समेत सहभागी थिए।
दार्चुलाको नौगाड गाउँपालिका–१ एयरकोट घर भएका महता आइतबार राति ब्यारेकमै सुतिरहेका बेला अचानक बिरामी परेका थिए। टाउको र छाती दुखेको गुनासो गरेपछि उनलाई तत्काल अत्तरियास्थित सशस्त्र प्रहरीको फिल्ड अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि अत्तरिया अस्पताल रिफर गरिएको थियो।
उपचारकै क्रममा बिहान करिब साढे ४ बजेतिर उनी बेहोस भएका थिए र चिकित्सकले मृत घोषणा गरेका थिए। प्रारम्भिक रूपमा उनको फोक्सोमा पानी जमेको र मस्तिष्कमा ज्वरो देखिएको चिकित्सकले बताएका छन्। यद्यपि, मृत्युको यकिन कारण शव परीक्षणपछि मात्र खुल्ने बताइएको छ।
शनिबार मात्रै कञ्चनपुरको भीमदत्त नगरपालिका–भासीमा बस्दै आएका आफन्त भेटेर फर्किएका महता स्वस्थ र खुसी देखिएका थिए। महेन्द्रनगरमा ठूलो बुवा बीर सिंह महतालाई “सबै ठीक छ बुवा” भन्दै हाँसीखुसी बिताएका उनी ब्यारेक फर्किएको दुई दिन नबित्दै निधन भएको खबरले परिवार शोकमा डुबेको छ।
महताको बुवा धनसिंह महता सोमबार बिहानै अन्तिमपटक छोराको अनुहार हेर्न धनगढी पुगेका थिए। छोराको असामयिक निधनले उनी विक्षिप्त बनेका छन्। ‘कुनै रोगबिमार थिएन, एक्कासी यस्तो भयो,’ परिवारका सदस्यले बताए।
अन्तिम बिदाइका क्रममा सेती प्रादेशिक अस्पतालको शव गृहमा भावुक दृश्य देखिएको थियो। एसएसपी ओलीसँग अंगालो हाल्दै धनसिंह महता डाँको छाडेर रोएपछि त्यहाँ उपस्थित सबैको आँखामा आँसु भरिएको थियो।
देशको सेवा गर्ने सपना बोकेका युवा महताको असामयिक निधनले परिवार मात्र होइन, सिंगो समाज र सशस्त्र प्रहरीको संगठन नै स्तब्ध बनेको छ।
हार्दिक श्रद्धाञ्जली महेश महता।

