

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारसँग दृष्टिविहीन अपांगता भएका व्यक्तिको हित हुने खालका कार्यक्रम बजेटमा ल्याउन माग गरिएको छ ।
मंगलबार नेपाल नेत्रहिन संघ सुदूरपश्चिम प्रदेशले सामाजिक विकास मन्त्री मेघराज खड्का र प्रदेश सभा सदस्यहरुसँग अन्तरक्रिया गर्दै दृष्टिविहीन अपांगता भएका व्यक्ति लक्षित कार्यक्रम ल्याउन माग गरिएको हो ।
नेत्रहीन संघका केन्द्रीय अध्यक्ष शिशिर खनालले दृष्टिविहीन लक्षित समावेशी नीति र कार्यक्रम बनाएर बजेटमा समेट्न माग गरे । प्रदेश सरकारले अहिलेसम्म दृष्टिविहीन अपांगता भएकाको हितमा देखिनेगरि कुनै काम नगरेको र यो कार्यकालको अन्तिम बजेट भएकाले नीतिगत सुधारसहित सन्देशमुलक कार्यक्रम ल्याएर जान अनुरोध पनि गरेका छन् ।
खनालले सरकारले अपांगता भएका भएका व्यक्तिका लागि विनियोजन गर्ने कुल बजेटको १७ प्रतिशत मात्रै दृष्टिविहीनका लागि छुट्याउदा राम्रो हुने उल्लेख गरे । कार्यक्रममा बोल्दै नेत्रहीन संघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन रावलले सरकारले अपांगताको क्षेत्रमा वर्गअनुसारको बजेट छुट्याउनुपर्ने बताए । उनले सरकारले सार्वजनिक स्थान तथा कार्यालयमा निर्माण गर्ने भौतिक संरचना समेत सबैको पहुँचयुक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री मेघराज खड्का र प्रदेश सभा सदस्यहरुले दृष्टिविहीन अपांगता भएका व्यक्तिले उठाएका मागप्रती सकारात्मक रहेको बताउँदै पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालमा एक लाख ४५ हजार ६६७ जना दृष्टिविहीन अपांगता भएका मानिस रहेकोमा सुदूरपश्चिम प्रदेशमा १५ हजार ९०५ जना रहेको नेत्रहीन संघले जनाएको छ ।

