
कपिलवस्तु मा बलात्कारजस्तो गम्भीर फौजदारी मुद्दा गाउँमै मिलापत्र गराउन खोजेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पीडित किशोरीकी आमा, पूर्ववडाध्यक्ष, मिलापत्रको कागज लेख्ने लेखनदास तथा आरोपीका बाबु रहेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लइस पठान, आरोपीका बाबु मोहम्मद सफिक पठान, लेखनदास रामवृक्ष कोहर तथा पीडित किशोरीकी आमा रहेका छन्।
घटनाका मुख्य आरोपी इलियास पठान भने फरार रहेको प्रहरीले जनाएको छ। उनीसँगै अर्का एक जना अभियुक्तको पनि खोजी भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ऋतेन्द्रकुमार सिंह का अनुसार वैशाख २१ गते इलियासले १९ वर्षीया किशोरीलाई आफ्नै घरमा लगेर बलात्कार गरेको जाहेरी परेको थियो। त्यसपछि वैशाख २३ गते पीडितकी आमाले छोरीसहित प्रहरी कार्यालय पुगेर इलियासविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। मुद्दा दर्ता भएलगत्तै आरोपी फरार भएका थिए।
प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर आरोपीको खोजी तथा घटनाको अनुसन्धान गरिरहेको अवस्थामा वैशाख २७ गते दुवै पक्षबीच गाउँमै मिलापत्र गरिएको कागजसहित केही व्यक्ति प्रहरी कार्यालय पुगेका थिए। प्रारम्भिक अनुसन्धानमा बलात्कार मुद्दालाई जग्गा विवादको झूटो कारण देखाएर मिलापत्र गराउन खोजिएको खुलेपछि प्रहरीले तत्काल पूर्ववडाध्यक्षसहित पीडितकी आमालाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा मिलापत्र गराउने कार्यमा मुख्य भूमिका आरोपीका बाबु मोहम्मद सफिक पठानको रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउका क्रममा प्रहरीले उनको साथबाट १ लाख ३ हजार ५ सय ५० रुपैयाँ समेत बरामद गरेको जनाएको छ। त्यसपछि लेखनदास रामवृक्ष कोहरलाई पनि पक्राउ गरिएको थियो।
प्रहरीले जबर्जस्ती करणीजस्तो गम्भीर फौजदारी कसुरमा पीडितलाई प्रभावमा पारेर अनुचित रूपमा मिलापत्र गराउने प्रयास गरिएको भन्दै चारै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। अदालतले अनुसन्धानका लागि पहिलो चरणमा पाँच दिनको म्याद दिएको छ।
स्रोतका अनुसार बलात्कार मुद्दा मिलापत्र गराएबापत १० लाख रुपैयाँभन्दा बढी रकम दिने सहमति कागजमा उल्लेख गरिएको थियो। यद्यपि, वास्तविक रूपमा त्यसको दोब्बर रकम मौखिक रूपमा दिने सहमति भएको आशंका पनि गरिएको छ।

