डोटीमा उपभोक्ता समिति अध्यक्षले वाल बनाउने सरकारी बजेटमा घरको पिल्लर ठड्याए, चौतर्फी आलोचना
वडा अध्यक्षकै मिलेमतो


धनगढी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ मा सडक संरचना निर्माणका लागि विनियोजित बजेट दुरुपयोग भएको आरोप लागेको छ। बगर–गर्सिगडा सडकको वाल निर्माणका क्रममा उपभोक्ता समिति अध्यक्षले आफ्नै घरको पिल्लर समेत ठड्याएपछि स्थानीयस्तरमा विवाद चुलिएको हो।

उक्त योजनाका लागि स्थानीय हर्कबहादुर चन्दको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ। वडा कार्यालयले उपभोक्ताको योगदानसहित करिब २ लाख ५० हजार रुपैयाँ लागतमा २० मिटर वाल निर्माणको स्टमेट स्वीकृत गरेको थियो। वाल निर्माण गर्ने स्थान उपभोक्ता समिति अध्यक्ष चन्दको घरअगाडि नै रहेको खुलेको छ।
स्थानीयका अनुसार चन्दले निर्माणाधीन सडकको वालसँगै आफ्नै घरको पिल्लर समेत उठाएका छन्। यसमा वडा अध्यक्ष श्याम बोगटीसँगको मिलेमतो रहेको आरोप लगाउँदै स्थानीयले सरकारी बजेट निजी प्रयोजनमा प्रयोग गर्न खोजिएको दाबी गरेका छन्। उनीहरूले सरकारी स्रोतसाधनको दुरुपयोग गरी निजी घर निर्माण गर्ने कार्य तत्काल रोक्न माग गरेका छन्।
प्राप्त तस्बिर तथा भिडियोमा सडकको वालमाथिबाट घरका लागि पिल्लर ठड्याइएको देखिन्छ। सडकतर्फको वाल पूर्णरूपमा निर्माण नभइसकेको अवस्थामा घरतर्फ पिल्लर उठाइएकाले स्थानीयले अनियमितताको आशंका व्यक्त गरेका छन्।
गाउँपालिका–६ का सचिव रविन मल्लले वाल निर्माणसँगै चन्दले घरको पिल्लर पनि हालेको विषय सत्य भएको स्वीकार गरेका छन्। तर, घर निर्माणका लागि वडा कार्यालयको बजेट प्रयोग भएको भन्ने आरोप भने पुष्टि नभएको उनको भनाइ छ।
मल्लका अनुसार उक्त स्थानमा सडक साँघुरो भएकाले फराकिलो बनाउन भित्तातर्फ मेसिनरी वाल निर्माणका लागि बजेट विनियोजन गरिएको हो। स्वीकृत स्टमेट र लागत अनुमानमा घर निर्माणसम्बन्धी कुनै व्यवस्था नभएको उनले बताए। चन्दलाई पटक–पटक घर निर्माणको काम रोक्न आग्रह गरिए पनि नमानेपछि माथिल्लो निकायमा जानकारी गराइएको उनको दाबी छ।
वडा अध्यक्ष श्याम बोगटीले पनि आफू र चन्दबीच कुनै मिलेमतो नभएको बताएका छन्। उनका अनुसार सडकको ट्र्याक खुल्नुअघि नै चन्दले उक्त स्थानमा घर बनाएका थिए। सडकको वालसँगै पिल्लर हालेर घर निर्माण गर्न खोजेपछि विवाद उत्पन्न भएको भन्दै आफूमाथि लगाइएका आरोप निराधार रहेको उनले बताए।
