

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अबको केही हप्ताभित्र सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने बताएकी छन् ।
सहकारीपछि सुकुमवासी समस्या समाधानमा पनि सरकार लागिराखेको बताउँदै उनले भनेकी छन्, ‘हाम्रो लक्ष्य अबको केही हप्तामा लालपुर्जा वितरण गर्छौं सुकुमवासीको हकमा ।’
बालेन शाह नेतृत्वको सरकार बनेलगत्तै सरकारले काठमाडौं उपत्यकाका खोला किनारमा बसेका सुकुमवासी र अव्यवस्थित बसोबासीले बनाएका घर टहरा लगायतका संरचनामा डोजर चलाएको थियो । त्यहाँबाट विस्थापित सुकुमवासीहरुलाई विभिन्न स्थानमा होल्डिङ सेन्टरमा राखिएको छ । त्यहाँ वास्तविक सुकुमवासीहरुको पहिचान गर्ने ९स्क्रिनिङ गर्ने० काम भइरहेको सरकारले जनाएको छ । पहिचानपछि उनीहरुलाई लालपूर्जा वितरण गर्ने मन्त्री रावलको भनाइ छ ।
यसअघि वास्तविक सुकुमवासीहरूलाई लालपूर्जा वितरण नगर्दासम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारीसमेत गरेको रास्वपा सांसदहरुको अभिव्यक्ति सार्वजनिक भएको थियो । गत वैशाख ३१ गते बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति हरि ढकालले सुकुमवासीलाई मासिक १५ हजार वितरणको तयारीबारे जानकारी गराएका थिए । ढकाल रास्वपा सांसद हुन् ।
काठमाडौंबाट अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गर्ने अभियान सुरु भएपछि अन्य जिल्लाहरुमा पनि सुकुमवासी र भूमिहीनहरु बस्दै आएको ठाउँमा डोजर लगाउने अभियान चलिरहेको छ । तर सुकुमवासी अगुवा एवम् अधिकारकर्मीहरुले उचित बसोबासको विकल्प नदिई घरटहरा भत्काएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।
सरकारको कदमविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया र व्यवस्थापन नगरी सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जबर्जस्ती विस्थापित नगर्न आदेश दिए पनि डोजर चल्ने क्रम भने रोकिएको छैन ।
रास्वपा सांसद एवम् मन्त्री रावलले सुकुमवासी समाधानका लागि बनाइएका पुराना संरचनाले राम्रो नतिजा दिन नसकेकाले अध्यादेश ल्याएर ‘फरक किसिमले’ काम गरिरहेको बताएकी छन् । समयानुकूल संरचनाहरु बनाइरहेको र सुकुमवासी समस्या समाधानका लागि काम गरिरहेको उनको जिकिर छ ।
‘पुरानो ढर्राबाट हुँदैन र पुराना जति पनि हाम्रा संरचना थिए, तिनले राम्रो काम गरेन र त्यसले केही पनि रिजल्ट दिन सकेन भनेर हामीले फरक किसिमबाट जानुपर्छ भन्ने हिसाबबाट हामीले अध्यादेश मार्फत् पनि त्यो संरचनामा फेरबदल गर्याछौं । त्यसअनुसार समयानुकूल संरचनाहरु बन्दैछन्,’ उनले भनिन्, ‘हाम्रो लक्ष्य चाहिँ अबको केही हप्तामा लालपुर्जा वितरण गर्छौं सुकुमवासीको हकमा ।’

