आरजु विदेशबाटै सुदूरपश्चिम चलाउँदै, कांग्रेसमा मुख्यमन्त्रीप्रती रोश !

cp new add
Nisharg hospital
suchana

धनगढी । जेनजी आन्दोलनका बेला घरमै कुटपिटमा परेकी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा कहाँ छन् ? धेरैले भन्छन्, पूर्वप्रधानमन्त्री तथा निवर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा सँगै उनी सिंगापुरमा छिन् ।

आरजुका धर्मपति समेत रहेका देउवासँगै सिंगापुर जान्छु भनेर गएकी आरजु उतै छन् कि अन्त कतै, यो कुरा उनैलाई थाहा होला । आरजु जहाँ भए पनि सुदूरपश्चिमका केही कांग्रेस नेता–कार्यकर्तासँग मन र फोन सम्पर्कमा भने अवश्य नै छिन् ।

प्रायः नियमितजसो फोन सम्पर्क भइरहने पात्रमध्ये एक हुन् मुख्यमन्त्री कमलबहादुर शाह । शेरबहादुर देउवालाई दाइ र आरजुलाई भाउजू भनेर सम्बोधन गर्ने शाह प्रिय देवरमध्ये नै पर्छन् ।

देउवा र आरजुका प्रिय भएर जीवनभर लाभ उठाएका धेरैजसो नेता अहिले नयाँ सभापति गगनकुमार थापा को कित्तामा पुगिसकेका छन् । तर मुख्यमन्त्री शाह यस्ता पात्र हुन्, जो आज पनि विदेशमा उपचार गर्न गएर अहिलेसम्म नफर्किएका देउवाको पक्षमा सतिसालझैँ उभिएका छन् ।

सभापति गगनकुमार थापालाई सार्वजनिक मञ्चमै उभिएर “पार्टीमा शेरबहादुर देउवाको हैसियत के हो ?” भन्दै प्रश्न सोध्ने आटिला व्यक्तिमध्ये पर्ने शाह अहिले पनि देउवा र आरजुको गुन तिर्न तल्लीन देखिन्छन् ।

शाह अहिले पनि प्रदेश सरकार सञ्चालन र पार्टीको आन्तरिक राजनीतिको विषयमा लिने निर्णयबारे आरजुसँग राय लिइरहने गरेको स्रोत बताउँछ । कांग्रेसमा बदलिएको परिस्थितिपछि समेत शाहले आरजु र देउवालाई नै प्राथमिकता दिएको भन्दै असन्तुष्टि चुलिँदो छ ।

कतिसम्म भने, आरजुले विदेशबाटै सुदूरपश्चिम सरकार चलाउन थालेको चर्चा कांग्रेस वृत्तमा छ । त्यसको पछिल्लो उदाहरण बैतडीका शिवराज भट्ट भएको दाबी गरिन्छ ।

आरजुले नै रिक्त रहेको वन मन्त्रालय शिवराजलाई दिन भनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनैलाई नियुक्ति दिएका थिए । यसअघि पनि कानुनमन्त्री भइसकेका भट्टलाई दोहोर्‍याएर मन्त्री बनाएपछि शाह आन्तरिक किचलोमा फसेको बताइन्छ ।

एकातिर दोहोर्‍याएर भट्टलाई मन्त्री बनाउने र अर्कोतिर दलमा परामर्श गर्नुको साटो आरजुलाई विदेशमा फोन गरेर निर्णय लिएको भन्दै सांसदहरू असन्तुष्ट छन् । त्यसपछि कांग्रेसमा मुख्यमन्त्रीविरुद्ध दलको नेताबाट हटाउने अभियान चलेको थियो ।

सर्वोच्च अदालतले सभापतिमा गगनकुमार थापालाई निरन्तरता दिएपछि देउवा पक्षमै खुलेका प्रायः सांसद गगनतिर ढल्किसकेका छन् । दिवान सिंह विष्टपदम शाही ले त शाहविरुद्ध हस्ताक्षर गरिसकेका थिए । शाहलाई हटाउनुपर्ने पक्षमा रहेका आठ जनाले हस्ताक्षर गरिसकेको स्रोत बताउँछ ।

सभापति थापाले सबैलाई मिलाएर लैजानुपर्ने बताएपछि भने उनीहरू रोकिएका थिए । कांग्रेसका एक सांसदका भनाइमा मुख्यमन्त्री शाहले अहिले पनि आरजु र देउवालाई नै नेता मानेर राय लिन थालेपछि आन्तरिक असन्तुष्टि तीव्र बनेको छ । यो कुरामा स्वयं उनका क्याबिनेटका मन्त्रीसमेत सहमत नभएको बताइन्छ ।

तर मुख्यमन्त्री शाहले भने निकटस्थहरूलाई पदमुक्त गर्न पार्टीकै सांसद र नेताले भएभरको ताकत लगाइरहेको भन्दै आएका छन् । पदमुक्त भए पनि बाल नभएको आशयको ठट्यौली गर्ने शाहले बजेटअघि सरकार जोगाइदिन एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगनकुमार थापासमक्ष बिन्ती चढाएका छन् । शाहको बिन्ती स्वीकार हुन्छ कि अस्वीकार, त्यो भने हेर्न बाँकी छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...