लम्कीचुहा अस्पताल विवाद : मेयर शाही अजरबैजान भ्रमणमा, मुख्यमन्त्री शाह बाक्लाे सुरक्षा घेरामा भाेलि उद्घाटन गर्दै




धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्ने तयारी गरेका छन् ।
लम्कीचुहा नगरपालिकाकि मेयर सुशीला शाहीकाे अवराेधपछि विवादमा परेकाे अस्पताल मुख्यमन्त्री शाहले भाेलि विधिवत रूपमा उद्घाटन गर्ने तयारी गरेका छन् ।
शाहले अस्पताल उद्घाटन गर्ने तयारी गरेका बेला मेयर शाही भने अजरबैजान भ्रमणमा छिन् । शाहीले यसअघि अस्पताल सञ्चालनका लागि प्रदेशले पठाएका कर्मचारीलाई अवराेध गर्दै फिर्ता गरेकी थिइन् । त्यसपछि मुख्यमन्त्री समर्थकले नगरपालिकामा तालाबन्दी गरेका थिए ।
मेयर शाहीले प्रदेशले जबर्जस्ती अस्पताल चलाउन खाेजेकाे आराेप लगाउदै अवराेध गर्दै आएकी छन् तर यसअघि शाहीले नै १५ शैयाकाे नगर अस्पताललाई ५० शैयाकाे प्रादेशिक अस्पताल बनाउन सहमति दिएकी थिइन् ।
संघीय सरकारले साेहीअनुसार लम्कीतुहालाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेकाे थियो ।तर, अहिले भने आफूलाई व्यवस्थापन समिति अध्यक्ष बनाउनुपर्ने माग राख्दै शाहीले अवराेध जनाइरहेकी छन् ।
निर्णय राेक्न शाही सर्वाेच्च अदालत पनि पुगेकी थिइन् तर सर्वाेच्च स्वास्थ सेवा प्रदेशकाे एकल अधिकार क्षेत्र भित्र पर्ने भन्दै तत्काललाई अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेशले चलाउन खाेजेकाे छ ।
यसैबीच मेयर शाही विदेशमा भएपनि मुख्यमन्त्री शाहले अस्पताल उद्घाटन गर्ने भएपछि लम्कीचुहा नगरपालिका क्षेत्रकाे सुरक्षा व्यवस्था मजबुत बनाइएकाे छ ।
जिल्ला प्रहरी कार्यालयले सम्भावित लफडालाई ध्यानमा राखेर सुरक्षार्थ ठूलाे संख्यामा प्रहरी परिचालन गरिएको जनाएको छ ।
प्रहरीलाई सघाउन सशस्त्रले पनि उतिकै संख्यामा आफ्नाे टाेली खटाएको छ ।
