


धनगढी । कैलालीमा पिकनिक खान गएका स्थानीयबीच भएको झडपमा प्रहरीसहित ६ जना घाइते भएका छन्। घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको कैलारी गाउँपालिका–१ स्थित वनदेवी मन्दिर क्षेत्रमा बिहीबार पिकनिक मनाउन पुगेका घोडाघोडी नगरपालिका–११ टप्पाका स्थानीयहरूबीच सामान्य विवाद चर्किँदा कुटाकुट भएको थियो।
झडपको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हसुलियाबाट घटनास्थल पुगेका प्रहरी टोलीमाथि समेत आक्रमण भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। झगडामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन जाँदा इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) साउनसिंह क्षेत्री भाट, प्रहरी हवलदार भवानसिंह बुडाल र प्रहरी सहायक हवलदार शैलेन्द्र बोहरा घाइते भएका छन्।
यस्तै, स्थानीय गोकर्ण बोहरा, रामचरण चौधरी र नृप बोहरा पनि घाइते भएका छन्। घाइतेमध्ये प्रहरी सहायक हवलदार शैलेन्द्र बोहरा र गोकर्ण बोहराको निसर्ग अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार घटनामा संलग्न २० वर्षीय स्वरुप कठरिया, २३ वर्षीय दिलीप कठरिया र २१ वर्षीय अरमान कठरियालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार झडपमा संलग्न समूहले खुकुरी, खुडा र चक्कु जस्ता घरेलु हतियार प्रयोग गरी प्रहरीमाथि समेत अन्धाधुन्ध आक्रमण गरेका थिए। प्रारम्भिक रूपमा सई भाटसहित दुई जना प्रहरी मात्रै घटनास्थल पुगेका बेला उनीहरूमाथि आक्रमण भएको थियो। सई भाटले एक घरेलु हतियार खोस्न सफल भएपछि थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
पछि इलाका प्रहरी कार्यालय हसुलिया र इलाका प्रहरी कार्यालय सुखडबाट थप प्रहरी टोली परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको थियो।
घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

