सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा शाह र रावलले ‘दुई प्लेट मःम खुवाउने’लाई नियुुक्ति दिएको आरोप
विवादमा प्रज्ञा प्रतिष्ठानको नियुक्ति




धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलबीचको भागबण्डाअनुसार पदाधिकारी नियुक्त भएका छन् ।
दुई जनाबीचको सहमतीअनुसार कुलपति एमालेले पाएको छ भने उपकुलपति र सदस्य सचिव कांग्रेसले लिएको छ ।
कुलपतिमा कञ्चनपुर बस्ने रामचन्द्र नेपाललाई नियुक्त गरिएको छ । उपकुलपतिमा कांग्रेसको कोटाबाट सरस्वती दाहालले नियक्ति पाएकी छन् ।
यस्तै, प्रतिष्ठानको परिषद् सदस्य सचिवमा कांग्रेसकै सुरत बहादुर रावत ’डोटेली कान्छा’ नियुुक्ति बुझेका छन् । विष्णुभक्त खैर र कृष्णा सिराडीलाई प्रतिष्ठानको परिषद् सदस्य बनाइएको छ । सरकारले सुरुमा २२ जनालाई प्राज्ञसभा सदस्यको नियुक्ति दिएको थियो । उनीहरु मध्येबाट पदाधिकारी र परिषद् सदस्य छानिएको बताइएको छ ।
पदाधिकारी नियुक्तिप्रती असन्तुष्टि जनाउदै शाह र रावलले नै प्रज्ञा सदस्यमा नियुुक्ति दिलाएका कतिपयले भने फिर्ता लिएको घोषणा गरेका छन् । सुदूरपश्चिमको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा कुनै योगदान नगरेकालाई खल्तीबाट टिपेर पदाधिकारी बनाइएकाले नियुक्ति फिर्ता लिएको उनीहरुको भनाइ छ ।
अहिलेसम्म प्रज्ञा परिषद् सदस्यमा नियुक्त गरेका रामप्रसाद अवस्थी र डा. देवेन्द्रप्रसाद भट्टले उक्त नियुक्ति नलिने घोषणा गरेका छन् ।
‘सुदूरपश्चिमको कला, संस्कृति र भाषाको संरक्षणका लागि सुदूरपश्चिमकै श्रष्ठालाई स्थान दिने भएर ऐन बनाइएको छ ।
तर सुपको कला, भाषा र साहित्यमा कुनै योगदान नभएका अझ भनौँ भाषा पनि बोल्न नजान्नेलाई पदाधिकारी बनाइएकोप्रती आपत्ती छ,’ नियुुक्ति फिर्ता लिएका एक जनाले भने, ‘प्रज्ञा प्रतिष्ठानलाई दुई नेताले डम्फिड साइड बनाएको आभाष भइरहेको छ । दुुई चार प्लेट मःम खुवाउने र गाडीमा तेल हाल्नेलाई टिपेर ल्याउनुभयो ।’
नियुक्ति फिर्ताको घोषणा गरेकाहरुलाई दुवै नेताले विभिन्न माध्यमबाट बुझ्न दबाब दिइरहेको पनि दाबी गरिएको छ ।
