कैलालीमा सर्पदंशका घटना देशभरमै उच्च, भरपर्दो उपचार सेवाले मृत्यु दर घट्दो

cp new add
Nisharg hospital
suchana
Nast new

भानुभक्त आचार्य/ जनक विष्ट
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७ महुलियाकी ७२ वर्षीया रिजु घर्तीमगर दुई नातिनीहरूसँग बस्दै आएकी थिइन्। २०८१ भदौ ९ गते राति पाँच वर्षीया लिजा र छ वर्षीया काजललाई सर्पले टोकेपछि दुवैको मृत्यु भयो।

बालिकाका बुबाको पहिले नै निधन भइसकेको थियो भने आमा रोजगारीका लागि जिल्ला बाहिर थिइन्। सोही रात ओछ्यानमै सुतेका तीनै जनालाई सर्पले टोकेको थियो। हजुरआमा बाँच्न सफल भइन्, तर दुवै नातिनीलाई बचाउन सकिएन।

यस्तै, २०८१ असोज ८ गते गौरीगंगा नगरपालिका–८ राजीपुरमा बाजुराको त्रिवेणी नगरपालिका–२ चौसालका दृष्टिविहीन ४० वर्षीय सर्जन बुढाको पनि सर्पदंशबाट मृत्यु भएको थियो।

यी घटना कैलालीमा सर्पदंशको जोखिम कति गम्भीर छ भन्ने प्रतिनिधि उदाहरण मात्र हुन्। गर्मी मौसम सुरु भएसँगै विषालु सर्पहरू बस्ती र घरसम्म पुग्ने तथा मानिसको ज्यान लिने घटनाहरू बढ्ने गरेका छन्।

कैलालीमा सबैभन्दा बढी सर्पदंशका घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो १५ वर्षमा देशभर सबैभन्दा बढी सर्पदंशका घटना कैलालीमा भएका छन्। कैलालीमा ६६ र कञ्चनपुरमा ३७ घटना दर्ता भएका छन्। यी दुवै जिल्ला सर्पदंशका घटनाका हिसाबले देशकै अग्रस्थानमा छन्।

तथ्यांकअनुसार कैलालीमा १९ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्। कञ्चनपुरमा ४ जनाको मृत्यु हुँदा ५५ जना घाइते भएका छन्।

यद्यपि, सर्पदंशबाट सबैभन्दा धेरै मृत्यु हुने जिल्ला भने दाङ रहेको छ। पछिल्लो १५ वर्षमा त्यहाँ ३५ जनाले सर्पदंशका कारण ज्यान गुमाएका छन्।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीका अनुसार दाङमा पर्याप्त उपचार केन्द्र नहुँदा मृत्यु दर बढी देखिएको हो।

“सर्पले टोकेपछि नजिकै उपचार केन्द्र नपाउँदा धेरै बिरामी समयमै अस्पताल पुग्न सक्दैनन्। त्यसैले मृत्यु संख्या बढेको देखिन्छ। अब उपचार सेवाको पहुँच विस्तारसँगै यो अवस्था सुधार हुने अपेक्षा गरेका छौँ,” उनले भने।

देशभर दाङपछि सिराहा, सप्तरी, कैलाली र मोरङमा सर्पदंशबाट मृत्यु हुनेको संख्या बढी छ।

उपचार सेवाले मृत्यु दर घटायो

कैलालीमा सर्पदंशका घटना धेरै भए पनि समयमै उपचार सुविधा उपलब्ध भएकाले मृतकको संख्या तुलनात्मक रूपमा कम रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर बताउँछन्।

“कैलालीमा हाल दुई स्थानमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्ने तयारी भइरहेको छ,” उनले भने, “सर्पले टोकेको व्यक्तिलाई समयमै अस्पताल पुर्‍याउन सके ज्यान बचाउने सम्भावना धेरै हुन्छ।”

हाल कैलालीको सेती प्रादेशिक अस्पताल र लम्कीचुहा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। मलाखेतीमा नयाँ केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ भने नेपाली सेनाले बडैपुर क्षेत्रमा पनि उपचार सेवा उपलब्ध गराउँदै आएको छ।

यिनै सेवाका कारण देशभर सबैभन्दा बढी सर्पदंशका घटना हुने जिल्लामध्ये पर्दा पनि कैलालीमा बाँच्ने बिरामीको संख्या उल्लेख्य रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

सुदूरपश्चिममा मृत्यु दर कम

कैलालीमा मात्र होइन, समग्र सुदूरपश्चिम प्रदेशमै सर्पदंशबाट मृत्यु हुने दर अन्य प्रदेशको तुलनामा कम देखिएको छ। सर्पदंशका घटना उल्लेख्य भए पनि उपचार सेवाको पहुँचका कारण मृतकको संख्या अपेक्षाकृत कम रहेको तथ्यांकले देखाउँछ।

९सातै प्रदेशका घटना, घाइते र मृतकको तालिका०

सेती प्रादेशिक अस्पतालका अनुसार गर्मी याममा विशेषगरी तराईका जिल्लामा विषालु सर्पको डसाइबाट धेरै मानिस प्रभावित हुने गरेका छन्।

कतिपय समुदायमा सर्पले टोकेपछि अस्पताल लैजानुभन्दा पहिले झारफुक गर्ने चलन अझै कायम रहेकाले बिरामीको अवस्था जटिल बन्ने गरेको छ।

“सर्पदंशका बिरामीको अस्पतालमा निःशुल्क उपचार हुन्छ। तर धेरैजसो बिरामी ढिलो गरी अस्पताल पुग्ने भएकाले समस्या बढ्ने गरेको छ,” प्रादेशिक अस्पतालले जनाएको छ ।

खानाको खोजीमा मानिसको घरपरिसरमा आउने सर्पहरू काठ, इँटा वा ढुङ्गाको थुप्रो, झाडी तथा दुलो भएका स्थानमा लुकेर बस्ने गर्छन्। घरवरिपरिको सरसफाइमा ध्यान नदिँदा सर्पदंशको जोखिम बढ्ने विज्ञहरू बताउँछन्।

हिउँदमा जमिनमुनि बस्ने सर्प गर्मी सुरु भएसँगै सतहमा निस्किने भएकाले यो समयमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।

धनगढीमा सर्प उद्धार

सर्पदंशको जोखिम कम गर्न धनगढी उपमहानगरपालिकाको प्रहरी रेस्क्यु टोलीले घरपरिसरमा फेला परेका सर्प समातेर सुरक्षित रूपमा जंगलमा छाड्ने काम गर्दै आएको छ।

उपमहानगरपालिका क्षेत्रभित्रबाट अहिलेसम्म तीन हजार सर्पको उद्दार गरिसकेको छ ।  सर्प उद्धार गरी जंगलमा छाडिएको छ। उपमहानगरपालिकाअनुसार गर्मी मौसममा दैनिक आठ वटासम्म सर्प समातेर जंगलमा छाड्ने गरिएको छ । विशेषगरि घरका कोठा, काठका र्याक, पुराना फ्रिज, दराज तथा घरबारीमा भेटिएका सर्प उद्धार गर्ने गरिएको छ ।

सूचना प्राप्त हुनासाथ आवश्यक उपकरणसहित रेस्क्यु टोली परिचालन हुने गरेको छ। गर्मी मौसममा तराई क्षेत्रमा विशेषगरी गोमन, करेत, पानीसर्प, धामन तथा अजिङ्गरजस्ता सर्पको बिगबिगी रहने भएकाले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

Navjeen New Ad
Loading...