अछामको ढकारी गाउँपालिकाले शनिबार बिदा नदिने

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । ढकारी गाउँपालिका, अछामले अबदेखि शनिबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिकाको निर्णयअनुसार आइतबारको बिदा भने यथावत् रहनेछ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा आइतबार र शनिबार दुई दिन सार्वजनिक बिदा दिँदा सेवा प्रवाह तथा शैक्षिक पठनपाठनमा समस्या आएको उल्लेख गरिएको छ। सोही कारण आइतबारको बिदा कायम राख्दै शनिबारको बिदा कटौती गर्ने निर्णय गरिएको जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदका अनुसार ३१ जेठमा सम्पन्न कार्यपालिका बैठकको निर्णयअनुसार असार १ गतेदेखि नै उक्त व्यवस्था लागू भइसकेको छ। नयाँ कार्यसमयअनुसार सोमबारदेखि शुक्रबारसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् भने शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहनेछन्।

यस्तै, सामुदायिक तथा संस्थागत विद्यालयका हकमा सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पठनपाठन सञ्चालन गरिनेछ। यस निर्णयले सरकारी सेवा प्रवाह र विद्यालयको शैक्षिक गतिविधिमा सहजता ल्याउने अध्यक्ष साउदको भनाइ छ।

यसअघि नेपाल सरकारले गत चैत २३ गतेदेखि आइतबार र शनिबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तथा विद्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्ने व्यवस्था लागू गरिएको थियो।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...