
धनगढी । धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बस्ने खगेन्द्र भनिने २५ वर्षीय खेमराज कठायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार कठायतलाई भारततिर भाग्दै गरेको अवस्थामा धनगढी–२ को भन्सार रोडबाट पक्राउ गरिएको हो ।कठायतलाई जिल्ला प्रहरी
कार्यालयका प्रहरी नायब निरीक्षक(सई) सुशील चन्द नेतृत्वको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । १० असारमा घरबाट बेपत्ता भएका बालक १२ असारमा हत्या गरेको अवस्थामा स्थानीय बालिका सामुदायिक वनभित्र मृत भेटिएका थिए ।
उनले कानमा लगाएको सुनको मुन्द्रा नभेटिएका कारण सोही लुट्ने उद्देश्यले हत्या गरिएको प्रहरीले आशंका छ । मुख्य अभियुक्त पक्राउ परिसकेकाले थप कुरा खुल्ने प्रहरीले बताएको छ । घटनाको अनुुसन्धानका लागि यसअघि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो तर उनीहरु हाल थुुनामुुक्त भइसकेका छन् ।

