
धनगढीमा बालकको हत्यापछि लुटिएको सुनको मुन्द्रा प्रहरीले मुख्य अभियुक्तकै घरबाट बरामद गरेको छ । गत १२ असारमा हत्या गरेको अवस्थामा सामुदायिक वनभित्र मृत भेटिएका धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय छोरा तनुज चौधरीले कानमा लगाएको मुन्द्रा फेला परेको थिएन ।
उक्त मुन्द्रा फेला नपरेपछि त्यसकै लागि हत्या गरेको निष्कर्ष निकालेको प्रहरीले सोमबार मात्र मुख्य अभियुक्त गौरीगंगा नगरपालिका—६ बस्ने खगेन्द्र भनिने खेमराज कठायतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कठायतलाई भन्सार रोडबाट पक्राउ गरिएको बताएको छ ।
तर उनलाई भारतको पलियाबाट पक्राउ गरेर ल्याइएको थियो । कठायत पक्राउ परेपछि उनले चौधरीको हत्या आफैँले गरेको स्वीकारेका छन् भने हत्यापछि लुटेर लगेको सुनको मुन्द्रा पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाकाअनुसार कठायतले घरमै पाइन्टको खल्तीमा लुकाएको अवस्थामा मुन्द्रा भेटिएको हो । स्वयंम कठायतले नै मुन्द्रा लुकाएको कुरा बताएपछि प्रहरीले फेला पारेको थियो ।
उनले सोही मुन्द्रा लुट्ने उद्देश्यले बालकको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । यद्यपी उनको बयान लिन भने बाँकी छ । घटना भएको दिन बालकसँगै घोगी, गंगटा खाएका कठायत गौरीगंगाबाट उनीसँगै धनगढीतिर आएका थिए ।
मदिरा समेत सेवन गरेका उनले बालकले कानमा लगाएकोमा मुन्द्रा लुट्नकै लागि हत्या गरेको बताएका छन् । हत्यापछि घर फर्किएका कठायत घटनाबारे सबैतिर थाहा भएपछि भागेका थिए ।
प्रहरीबाट बच्न कहिले जंगल त कहिले विभिन्न ओढारमा बसेको कुरा पनि कठायतले बताएका छन् । प्रहरीले चारैतिर खोजिरहेका बेला समेत भारतको पलिया पुगेका कठायत पैँसा नभएकै कारण त्यहाँ रोकिएका थिए । पैँसाको व्यवस्थापन गर्दागर्दै उनलाई कैलालीबाट खटिएका प्रहरी नायब निरीक्षक(सई) सुशील चन्द नेतृत्वको टोली समात्न सफल भएको थियो ।
कैलाली प्रहरीले कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्त गरेर उनीमाथि अनुसन्धान अघि बढाएको जनाएको छ। अहिलेसम्म घटनामा उनी एक्लै संलग्न रहेको देखिएको प्रहरीको भनाई छ । उनी मदिरासँगै लागूऔषधजन्य कुलतमा समेत फसेका व्यक्ति भएको प्रहरी बताउँछ । घटनाको अनुसन्धानका लागि पक्राउ परेका कठायतका बुवासहितका अन्य चार जनाको भने संलग्नता नदेखिएपछि प्रहरीले छाडेको छ ।
हाजिरी जमानीमा छाडिएका नाबालकसहितका उनीहरुमाथि समेत सोधपुछ र अनुसन्धान भने जारी राखिएको प्रहरीले जनाएको छ ।

