
धनगढी । सामाजिक सञ्जालमा लाइक, भ्यु र डलर कमाउने उद्देश्यले ‘प्रयाङ्क भिडियो’ बनाउने नाममा सर्वसाधारण नागरिकलाई दुःख दिने, अपमानित गर्ने र मानसिक तनाव सिर्जना गर्ने प्रवृत्ति सुदूरपश्चिमका विभिन्न स्थानमा बढ्दै गएको छ ।

विशेषगरी कैलालीको धनगढी, अत्तरिया तथा आसपासका बजार क्षेत्रमा यस्ता गतिविधि बढेका हुन् । पछिल्लो समय ‘योगेश थापा’ नामक फेसबुक अकाउन्टबाट सार्वजनिक भइरहेका विभिन्न भिडियोमा रमाइलोको बहानामा सडकमा हिँडिरहेका सर्वसाधारणलाई अनाहकमा हैरानी दिने, झुक्याउने, डर देखाउने तथा सार्वजनिक रूपमा अपमानित गर्ने दृश्यहरू देख्न सकिन्छ ।
ती भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन् । उनले अत्तरिया बजारमा सर्वसाधारण नागरिकहरुलाई दुःख दिने गरेको भिडियोमा देख्न सकिन्छ ।
केही भिडियोमा त उनले प्रहरी कै अगाडि ‘प्रयाङ्क भिडियो’ बनाएका छन् । जुन भिडियोमा प्रष्ट देख्न सकिन्छ ।
यस्तो सामग्री लामो समयदेखि सार्वजनिक भइरहे पनि सम्बन्धित निकायले चासो नदिएको नागरिकहरुको गुनासो छ ।
सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्ने र आर्थिक लाभ कमाउने उद्देश्यले नागरिकको सम्मान र गोपनीयतामाथि खेलबाड भइरहेको उनीहरूको भनाइ छ ।
यस्ता गतिविधि कुनै एक व्यक्तिमा मात्र सीमित छैनन् । पछिल्लो समय सुदूरपश्चिमका विभिन्न बजार क्षेत्रमा केही समूहले सर्वसाधारणलाई पूर्वजानकारी वा सहमतिबिना भिडियोमा कैद गर्ने, अनावश्यक रूपमा जिस्क्याउने, अप्ठ्यारो परिस्थितिमा पार्ने र त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रम बढ्दो छ ।
करिब एक साताअघि रुकुम पश्चिममा पनि प्रयाङ्क भिडियो बनाउने नाममा सर्वसाधारणमाथि दुर्व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका थिए ।
उक्त घटनापछि गृहमन्त्री सुधन गुरुङले यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए । अब कैलाली प्रहरीले भने के गर्छ त्यो भने हेर्न बाँकी छ ।

