नेकपाले सदनमा भन्यो– हाम्रो छाला र हड्डी पुराना होलान्, तर विचार नयाँ छ

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुराना राजनीतिक दलहरूमाथि लाग्दै आएको पुरानो र असक्षम भन्ने आरोपको प्रतिवाद गरेको छ ।

Nast Ad

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा सांसद भीमकुमारी बुढाले पुराना दलका नेताहरूको शारीरिक अवस्था र समयलाई लिएर पुरानो भनिए तापनि उनीहरूको विचार र योगदान सधैँ नयाँ र सान्दर्भिक रहने बताइन् ।

सदनमा बोल्दै सांसदले पछिल्लो समय नयाँ भनिएका शक्तिहरूले सङ्घीयता र लोकतान्त्रिक उपलब्धिहरूलाई उपहास गरिरहेको भन्दै आपत्ति जनाइन् । ‘सङ्घीयता कुनै फुमन्तर गरेर वा टिकटक बनाएर आएको होइन,’ उनले भनिन्, ‘यो हजारौँ शहीदहरूको रगतले साटेर ल्याइएको उपलब्धि हो । यसमाथि ठट्टा नगरियोस्  हामी बाँचिरहेका छौँ, हाम्रा विचारहरू नयाँ छन् र सधैँ नयाँ रहनेछन् ।’

सांसदले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याएको आरोप लगाइन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा र सिमानाका विषयमा प्रधानमन्त्रीले दिएको हलुका अभिव्यक्तिले सिमानामा लडिरहेका सुस्ताबासी र आम नेपालीको शिर निहुरिएको उनले बताइन् । ‘प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्छ र उहाँको राष्ट्रघाती अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्छ,’ उनले भनिन् ।

नयाँ शक्ति र हालको सरकारले युवाहरूलाई स्वदेशमै रोजगारी दिने आश्वासन दिएर भोट लिएको तर परिणाम शून्य रहेको आरोप उनको छ । ‘चुनावका बेला विदेशमा रहेका युवाहरूले आफ्ना आमाबुबालाई घण्टी मा भोट हाल्न दबाब दिए, नत्र पैसा नपठाउने धम्की समेत दिए,’ उनले भनिन्, ‘आज ती युवाहरू घर–घरमा समीक्षा गरिरहेका छन् कि हामीले गल्ती गरेछौँ । बिदेसिने युवाहरूको ताँती अझै घटेको छैन ।’

सरकारले सुकुमबासीहरूलाई वर्षायाममा पशुलाई जस्तै लखेटेको र किसानहरूलाई मुख्य बाली लगाउने समयमा मल र पानीको व्यवस्था गर्न नसकेको भन्दै सुशासनको नारामाथि प्रश्न उठाइन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...