
धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ सुँगरेमा भएको जीप दुर्घटनापछि पीडित परिवारलाई राहत र घाइतेहरूको उपचारका लागि जिल्लाभरका सबै स्थानीय तहले न्यूनतम २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेका छन्।

आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको सर्वदलीय बैठकले राहत वितरण, उपचार व्यवस्थापन तथा मनसुनजन्य विपद् न्यूनीकरणसँग सम्बन्धित विभिन्न निर्णयहरू गरेको हो। बैठकले जिल्लास्थित राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, नेपाल पत्रकार महासंघ तथा राष्ट्रसेवक कर्मचारीलाई पनि स्वेच्छिक आर्थिक सहयोग गर्न आह्वान गरेको छ।
संकलित रकमको व्यवस्थापन र समन्वय दुर्गाथली गाउँपालिकाले गर्ने जिम्मेवारी पाएको छ। घाइतेहरूको उपचारका लागि थप आर्थिक स्रोत जुटाउन गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सहयोग माग्ने निर्णय पनि गरिएको छ।
समितिका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई काठमाडौं र पाँच जनालाई हेलिकोप्टरमार्फत नेपालगञ्ज पठाएर उपचार गराइँदा उल्लेखनीय आर्थिक भार परेको छ। यही कारण उपचार खर्च व्यवस्थापनका लागि विभिन्न निकायसँग सहयोग संकलन गर्ने प्रक्रिया अघि बढाइएको हो।
उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य घाइतेहरूको उपचार जारी छ।
यसैबीच, मनसुनका कारण निरन्तर वर्षा, बाढी, नदी कटान र पहिरोको जोखिम बढ्दै गएपछि जिल्लाका सबै स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्र रहेका जोखिमयुक्त सडक र मोडहरूको तत्काल मर्मत–सम्भार गर्न तथा आवश्यक पूर्वतयारी पूरा गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

