शवगृहमा शव राखेबापत पनि कर असुल्ने सरकारी नीतिप्रति आपत्ति जनाउँदै त्यसलाई अमानवीय निर्णयको संज्ञा : नेता शाही


प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानबहादुर शाहीले शवगृहमा शव राखेबापत पनि कर असुल्ने सरकारी नीतिप्रति आपत्ति जनाउँदै त्यसलाई अमानवीय निर्णयको संज्ञा दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद शाहीले मृत्युपछिको संवेदनशील अवस्थासमेत करको दायरामा ल्याउनु मानवीय दृष्टिकोणबाट उचित नभएको टिप्पणी गरेका हुन् । “मृत्युपछि शवगृहमा शव राखेबापत पनि ३ प्रतिशत कर असुल्ने सरकारको नीति रहेछ,” भन्दै उनले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले जीवनको अन्तिम घडीसँग जोडिएका विषयमा सरकारले संवेदनशीलता देखाउनुपर्ने धारणा राख्दै कर असुल्ने व्यवस्था पुनर्विचार गर्न आग्रह गरेका छन्। “ए सरकार, एकदिन हामी सबै मर्नु पर्छ, कम्तीमा जीवनको अन्तिम घडीसँग जोडिएका विषयमा यति पाप त नगर हो,” शाहीले भनेका छन् ।
