
धनगढी। धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र दिएको छ।

व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र दिइएको पुष्टि गर्दै उनी बस्नका लागि आएको जानकारी दिए पनि पूर्वसूचना बिना धर्मशालामै सत्याग्रह थालेको बताए।
‘उहाँ बस्नका लागि आउनुभएको थियो, तर कुनै जानकारी नदिई अनसन सुरु गर्नुभयो,’ अध्यक्ष पन्तले भने, ‘धार्मिक संस्थामा अनसन बस्न किन दिएको भन्ने बाहिरबाट दबाब आउन थाल्यो। त्यसैले धर्मशाला छाड्न अनुरोध गरेका हौं।’
दबाब कसले दिएको भन्ने विषयमा भने उनले खुलाउन चाहेनन्।
यसअघि बिहीबार अनेरास्ववियु कैलालीका अध्यक्ष कबेर खड्काले पनि डा. केसीलाई धर्मशालामा अनसन बस्न नदिन व्यवस्थापन समितिलाई अनुरोध गरेका थिए।
व्यवस्थापन समितिले धर्मशाला खाली गर्न पत्र दिएपछि अबको विकल्पबारे छलफल भइरहेको डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए। उनका अनुसार डा. केसीले धर्मशालामा बस्ने विषयमा पूर्वजानकारी गराएरै सत्याग्रह सुरु गरेका थिए।
तर, अहिले कुन कारणले स्थान छाड्न भनिएको हो भन्नेबारे स्पष्ट जानकारी प्राप्त नभएको उनले बताए।
डा. केसी पाँचबुँदे माग राख्दै बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा छन्।

