
धनगढीस् जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सार्वजनिक बिदाको दिन पनि सञ्चालन गर्ने भएको छ। सेवाग्राहीको अत्यधिक चाप बढेपछि कार्यालयले बायोमेट्रिक (फोटो खिच्ने)सेवा सार्वजनिक बिदाका दिनसमेत उपलब्ध गराउने निर्णय गरेको हो।

कार्यालयका अनुसार साउन ८ गतेदेखि आइतबार र शनिबारबाहेक सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक सेवा सञ्चालन गरिनेछ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–६, कैलारी गाउँपालिका–७ तथा गोदावरी नगरपालिकाका वडा कार्यालयमार्फत सञ्चालन गरिएको अभियानमा विवरण दर्ता गराएका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचयपत्र कार्ड बुझ्न अनुरोध गरिएको छ।
कार्यालयले २०८० साल भदौ मसान्तसम्म विवरण दर्ता गराएका सेवाग्राहीका राष्ट्रिय परिचयपत्र कार्ड कार्यालयमा प्राप्त भइसकेको जनाएको छ। उक्त अवधिमा विभिन्न कारण, विशेषगरी आन्दोलनका कारण वितरण हुन नसकेका कार्ड सम्बन्धित व्यक्तिले स्वयं उपस्थित भई बुझ्नुपर्ने पनि सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासनकीय अधिकृत यादव भण्डारीद्वारा जारी सूचनामा सेवाग्राहीको सहजताका लागि सेवा अवधि विस्तार गरिएको जनाइएको छ।

