सुदूरपश्चिम नेकपाभित्र खगराजलाई मुख्यमन्त्री बन्नै नदिने खेल, साविक माओवादीमै किचलो

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारीसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्ति संघर्ष फेरि सतहमा आएको छ। तत्कालीन माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)एकीकरणपछि बनेको नेकपाले अब प्रदेश सरकारको नेतृत्व गर्ने सहमति एमालेसँग गरिसकेको छ। त्यसअनुसार संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित देखिए पनि साविक माओवादीभित्रको पुरानो शक्ति संघर्ष फेरि ब्युँतिएको स्रोतको दाबी छ।

Nast Ad

स्रोतका अनुसार मानबहादुर धामी पक्षले केही दिनअघि भट्टलाई दल नेताबाट हटाएर आफू मुख्यमन्त्री बन्ने योजनासहित बहुमत जुटाउने प्रयास गरेको थियो। साविक नाउपा र एकीकृत समाजवादीका सांसदको साथ नपाएपछि उक्त प्रयास रोकिएको बताइन्छ। एक साविक नाउपा सांसदका अनुसार धामी पक्षले हस्ताक्षरका लागि प्रस्ताव गरे पनि आफूहरूले अस्वीकार गरेपछि प्रक्रिया अघि बढ्न सकेन।

धामी पक्षले साविक एकीकृत समाजवादीका सांसदहरूसँग पनि छुट्टाछुट्टै छलफल गरेको थियो। तर त्यहाँबाट पनि सकारात्मक संकेत नआएपछि दल नेता परिवर्तनको प्रयास रोकिएको स्रोतको भनाइ छ।

यो विवाद नयाँ भने होइन। १२ माघ २०८० मा धामीले नै भट्टलाई तत्कालीन माओवादी संसदीय दलको नेताबाट हटाएर नेतृत्व सम्हालेका थिए। त्यसबेला अक्कलबहादुर रावल, ओमविक्रम भाट, शिवसिंह ओली, गीता देवी माल र लक्ष्मी बिक धामीको पक्षमा थिए भने खगराज भट्टसँग रमेश धामी, झपट साउद र जानकी पौडेल उभिएका थिए। अहिले भने सांसदहरूको समीकरण फेरिएको र विगतमा भट्टविरुद्ध उभिएका केही सांसद अहिले उनकै पक्षमा देखिएको स्रोत बताउँछ।

साविक माओवादीभित्रको संख्याले मात्रै दल नेता परिवर्तन सम्भव नदेखिएपछि अहिले मन्त्री पदको भागबण्डालाई लिएर आन्तरिक रस्साकस्सी बढेको बताइन्छ। धामी पक्षकै एक सांसदले पनि दल नेता परिवर्तनको अभ्यास भएको तर सफल नहुने देखिएपछि पछि हटेको स्वीकार गरेका छन्। यद्यपि उनले नाम भने सार्वजनिक नगर्न आग्रह गरेका छन्।

एकीकरणअघि धामी नै माओवादी संसदीय दलका नेता थिए। पार्टी एकीकरणपछि भने खगराज भट्ट दलको नेता बनेका थिए। अहिले सरकार गठनको तयारीसँगै साविक माओवादीभित्र मन्त्री बन्न तीव्र दौडधुप छ। उता साविक नाउपाले दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने अडान राखेको छ भने साविक एकीकृत समाजवादीले पनि सरकारमा सम्मानजनक सहभागिता खोजेको छ। यसले मुख्यमन्त्रीको टुंगो लाग्ने अवस्थाबीच पनि नेकपाभित्र पद र शक्ति बाँडफाँड पेचिलो बन्न सक्ने संकेत देखिएको छ।

यद्यपि नेकपाका उपनेता प्रकाश रावल ले भने पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन्। उनका अनुसार मुख्यमन्त्री कमलबहादुर शाह ले मार्ग प्रशस्त गरेपछि केन्द्रीय सहमतिअनुसार नै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ।

“बाहिर के–कसरी कुरा आइरहेका छन् भन्ने कुराको खासै अर्थ हुँदैन। पार्टीभित्र भनिएजस्तो कुनै समस्या छैन। शीर्ष तहमा नेताहरूबीच छलफल र संवाद जारी छ,” रावलले भने, “मुख्यमन्त्री कमल शाहले मार्ग प्रशस्त गरेपछि केन्द्रको सहमतिअनुसार सरकार गठन प्रक्रिया अघि बढ्छ।”

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...