कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड बजेट शेखर कोइरालाद्वारा अस्वीकार

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँको बजेट अस्वीकार गरेका छन्।

Nast Ad

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै डा. कोइरालाले राज्यको सीमित स्रोत–साधन अभाव, वञ्चना र कष्टमा रहेका आम नागरिकको उत्थानमा खर्च हुनुपर्ने भएकाले उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताएका हुन्।

सरकारले आर्थिक वर्ष २०८३ र ८४ को बजेटमार्फत नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर रहेको कोइराला निवासको मर्मतका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो। सरकारप्रति आभार व्यक्त गर्दै डा. कोइरालाले वर्तमान परिस्थितिमा उक्त रकम जनहितका क्षेत्रमा उपयोग गर्न आग्रह गरेका छन्।

उनले पत्रमा लेखेका छन्, ‘राज्य सामु अभाव र कष्टमा रहेका नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत–साधनको उपयोग होस् भन्ने विश्वासका साथ यो रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु।’

डा. कोइरालाले बिपी कोइरालाले जीवनभर नेपाली जनताको गाँस, वास र कपासका लागि संघर्ष गरेको स्मरण गर्दै विपन्न नागरिकको पक्षमा राज्यले काम गर्नु नै बिपी र कोइराला निवासप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन्।

विराटनगर महानगरपालिका–७ स्थित कोइराला निवास डा. शेखरका पिता कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेका थिए। नेपाली राजनीतिको ऐतिहासिक धरोहर मानिने उक्त घर गत वर्ष भदौ २४ गते ‘जेन्जी आन्दोलन’का क्रममा आगजनीबाट क्षतिग्रस्त भएको थियो।

पत्रमा डा. कोइरालाले कोइराला निवास केवल एउटा भवन नभई नेपाली जनताको भरोसा, विचार, संगठन र राष्ट्रियताको प्रतीक भएको उल्लेख गर्दै भौतिक संरचना नष्ट भए पनि यसको वैचारिक विरासत जीवित रहने विश्वास व्यक्त गरेका छन्।

उनले राज्यको सम्पत्ति निजी संरचनाको मर्मतभन्दा आम नागरिकको हित र आवश्यकतामा खर्च हुनु उपयुक्त हुने धारणा पनि व्यक्त गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...