
रामेछाप । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार अनुभवहीन नेतृत्वका कारण जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। प्रारम्भमा सरकारले सकारात्मक सन्देश दिए पनि प्रतिबद्धता कार्यान्वयनमा भने पूर्णरूपमा असफल भएको उनले बताएका छन्।

एमाले रामेछापको नवनिर्मित ‘मदन–आश्रित स्मृति भवन’ उद्घाटनका लागि मन्थली पुगेका महासचिव पोखरेलले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सरकारको प्रतिबद्धता र व्यवहारबीच ठूलो अन्तर देखिएको टिप्पणी गरे। उनका अनुसार वर्तमान सरकार विगतका सरकारभन्दा कमजोर, विवादास्पद र जनहितविपरीत काममा केन्द्रित भएको छ।
सरकार गठनलगत्तै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्ने प्रक्रिया तथा १०० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दा सरकार गतिशील बनेको आभास भएको उनले बताए। तर, पक्राउको औचित्य पुष्टि हुन नसकेको र मुद्दा दर्ताको आधारसमेत नदेखिएकाले उक्त कदम प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित रहेको उनको आरोप थियो।
पोखरेलले सरकारले सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धता कार्यान्वयनमा पनि असफल भएको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीकै नेतृत्वले उक्त कार्यक्रमको कार्यान्वयनलाई ‘पास मार्क ३२ मान्ने हो भने पास, ४० मान्ने हो भने फेल’ भनेर मूल्याङ्कन गरेको उल्लेख गर्दै उनले सरकारले जनताले अपेक्षा गरेअनुसारको डेलिभरी दिन नसकेको बताए।

