
नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकमा निराशा, आक्रोश र हतास मनोदशा देखिएको बताएका छन् । उनले सरकारप्रति जनतामा देखिएको आक्रोश आफूहरूका लागि चिन्ताको विषय भएको बताए ।

कांग्रेस केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै सभापति थापाले के–के न हुन्छ भनेर नयाँलाई भोट हालेकाहरूले पनि केही हुन सकेन भनेर आक्रोश व्यक्त गरिरहेको बताएका हुन् ।
‘तपाईंहरूले नागरिक भेट्दा के पाउनुभयो रु यहाँ खुलेर छलफल गरौं । मैले चाहिँ जनतामा निराशा र हतासा भएको पाउँछु । हतासको मनोदशा भएको पाउँछु,’ थापाले भने, ‘के–के न होला भनेर भोट हाल्यौं, केही हुन सकेन भनेर जनतामा आक्रोश पाउँछु । प्रधानमन्त्री बालेनले मध्य राति लेखेको स्टाटसले पनि त्यो कुरा स्वीकारेको देखिन्छ,’ थापाले भने ।
‘रास्वपा सरकारप्रति जनतामा देखिएको निराशामा कांग्रेस खुसी हुने कि चिन्ता व्यक्त गर्ने ?’ थापाले भने– ‘राष्ट्रिय शक्तिको हैसियतमा कांग्रेस यसमा चिन्ता व्यक्त गर्छ ।’

